धनगढीका स्वतन्त्र उम्मेदवार हमाल प्रतिस्पर्धीभन्दा १० हजार मतले अगाडि

सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्ने निश्चित भएको छ ।

धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मतमध्ये शनिबार दिउँसोसम्म ५१ हजार ६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएर लिड गरिरहेका छन् ।

उनी दलका उम्मेदवार भन्दा १० हजार मतले अगाडि रहेका छन् । धनगढीमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५ सय ४४ मत पाएका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत मात्रै पाएका छन् ।

मत गणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दलका उम्मेदवार भन्दा १० हजार ९ सय ९७ अघि छन् ।  

अब धनगढीमा करिब साढे १२ हजार मत गन्न बाँकी रहेको छ । साढे १२ हजार मत गन्दा कुनै पनि उम्मेदवारको पक्षमा एकलौटी जाने सम्भावना पनि छैन । त्यसैले यसपटक सुदूरपश्चिमको एक मात्र उपमहानगरमा स्वतन्त्र उम्मेदवारले कब्जा जमाउने निश्चित भएको छ ।

धनगढी उपमहानगरपालिकाका १९ वडा मध्य १,२, ३, ४, ५, ६, ७, ८, १४, १५, १६, १७, १८, १९ को मतगणना सम्पन्न भइसकेको छ । मत गणना सम्पन्न भएकामध्ये १, २, ३, ४, ५, १४, १५, १७, १९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 



यसैगरी, वडा नम्बर ७, ८ र १८ मा एमालेका उम्मेदवार विजयी हुँदा वडा नम्बर ६ र १६ मा माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । धनगढी–१३ को मत गणना अन्तिम चरणमा छ, भने वडा नम्बर ९, १०, ११, १२ को मतगणना जारी छ ।

०७४ को निर्वाचनमा पनि गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेला उनी कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग २७ सय मतान्तरले पराजित बनेका थिए । 



यसपटक उनै वडलाई पराजित गरेर ०७४ को हारको बदला लिँदै हमाल धनगढीको मेयर बन्ने लगभग निश्चित भएको छ । 

  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १७:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया