मोरङको रंगेली बन्यो एमालेको ‘लाल किल्ला’, मेयर/उपमेयरसहित ९ वटै वडामा विजयी

मोरङको रंगेली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) ले ऐतिहासिक जित निकालेको छ । नेपाली कांग्रेसको ‘गढ’ का रूपमा चिनिँदै आएको रंगेली नगरपालिकामा पहिलो पटक एमाले विजयी भएको हो । 

आइतबार साँझ सार्वजनिक अन्तिम मतपरिणामअनुसार रंगेली नगरपालिकाको मेयर, उपमेयर र ९ वटै वडाको वडाध्यक्ष एमालेले जितेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रंगेलीले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमालेका दिपिल बगडीया फराकिलो मतान्तरले विजयी भएका छन् । 

बगडीयाले १२ हजार ८ सय ६१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे । बगडीया र घिमिरेको मतान्तर ३८०० छ । बगडीया निवर्तमान मेयरसमेत हुन् । 

त्यस्तै, उपमेयरमा एमालेकै भूमा पराजुली ११ हजार ७ सय ९० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट साझा उम्मेदवार जसपाका पन्नालाल मण्डलले ५१७५ मत मात्र प्राप्त गरे । पराजुलीले मण्डललाई ६६१५ मतान्तरले पराजित गरिन् । 

रंगेलीका ९ वटा वडामध्ये सवै वडामा पनि एमाले विजयी भएको छ । ६ नम्बर वडाको एउटा वडा सदस्य जसपाले जिते पनि अन्य सबै वडमा एमालेका उम्मेदवार प्यानलसहित निर्वाचित भएका हुन् । 



नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन् । 

प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित मेयर दिलिप बगडीयाले शान्तिपूर्ण, भयरहित वातावरण र निश्पक्षरुपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रहरी,प्रशासन सवैलाई धन्यवाद ज्ञापन गरे ।



  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार २०:४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया