इन्डियन साइन्स कंग्रेसका सहभागी भन्छन्– आइन्सटाइन र न्युटनका खोज मिथ्या
स्टिम सेलको खोज हजारौँ वर्षपहिले भारतमा भएको दाबी

नयाँदिल्ली– भारतीय वैज्ञानिकहरुले हिन्दू शास्त्रका विभिन्न प्रसंगलाई आधार मान्दै न्युटन र आइन्सटाइनका खोजहरु मिथ्या भएको दाबी गरेका छन् । 

‘एनुअल इन्डियन साइन्स कंग्रेस’मा केही वैज्ञानिकले न्युटन र आइन्सटाइनका खोजमाथि प्रश्न उठाए । १०६औँ इन्डियन साइन्स कंग्रेसमा बोल्दै आन्द्रा विश्वविद्यालयका उपकुलपति जी नागेश्वर रावले स्टिम सेलको खोज हजारौँ वर्षपहिले भारतमा भएको दाबी गरे । आफ्नो तर्क सिद्ध गर्न उनले हिन्दू शास्त्रको सहारा लिए ।

योसँगै, रामायणको प्रसंग काट्याउँदै उनले रावणसँग २४ प्रकारका विमान रहेको उल्लेख गरे । पौराणिक कालमै लंकामा विमानस्थलसमेत बनेको उनको दाबी रह्यो । 

तामिल नाडुका वैज्ञानिक डा. केजे कृष्णनले ‘न्युटनले ग्राभिटेसनल रिपल्सिभ फोर्सबारे बुझ्न नसकेको’ दाबी गरे । आइन्सटाइनका सिद्धान्तहरुलाई पनि उनले ‘मिसलिडिङ’को संज्ञा दिए । 

वैज्ञानिक जगतका पश्चिमा विश्लेषकहरुले भने प्राचीन ग्रन्थहरु ‘पढेर आनन्द मात्र लिनुपर्ने’ भन्दै ‘तिनीहरुले विज्ञानलाई प्रतिविम्बित गर्छन् भन्नु मुर्खता हुने’ टिप्पणी गरेका छन् । 

इन्डियन साइन्स कंग्रेस एसोसिएसनले भने यस्ता टिप्पणीप्रति ‘गम्भीर चासो’ व्यक्त गरेको छ । हामी उनीहरुका दृष्टिकोणका पछि लाग्दैनौँ, र उनीहरुका टिप्पणीबाट आफूलाई टाढै राख्छौँ । यो दुर्भाग्यपूर्ण छ,’ इन्डियन साइन्स कंग्रेस एसोसिएसनका महासचिव प्रेमेन्दु पी माथुरको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ, ‘जिम्मेवार व्यक्तिहरुबाट आएका यस्ता अभिव्यक्तिप्रति गहिरो चासो रहन्छ ।’ 



३ जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीबाट उद्घाटन भएको १०६औँ इन्डियन साइन्स कंग्रेस ७ जनवरीसम्म चलेको थियो । 



  • प्रकाशित मिति : पुस २३, २०७५ साेमबार २१:२४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया