पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यले जित सुनिश्चित गरेका छन् । १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन् ।
निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८५ मत मात्रै पाए । अब ५ हजार मत गणना हुन बाँकी छ । उपमेयरमा भने एमालेकी मञ्जु गुरुङ जित नजिक पुगेकी छिन् ।
उनले कांग्रेसकी कोपिला रानाभाटलाई ४ हजार ३५ मत अन्तरले पछि पारेकी छिन् । गुरुङले ५८ हजार ५ सय ८२ मत पाउँदा रानाभाटको पोल्टामा ५४ हजार ५ सय ४७ मत परेको छ ।
०१६ सालमा नगर पञ्जायतको रूपमा गठन भएको पोखरामा यसअघि १४ जना मेयरले काम गरिसकेका छन् । २०१६ देखि ०१८ सम्म पहिलो मेयरका रूपमा शिवबहादुर थापाले काम गरे । २०१९ देखि ०२४ सम्म नगेन्द्रबहादुर रायमाझी, २०२४ देखि २०२८ सम्म अम्बरबहादुर कार्की मेयर बने । २०२८ देखि २०३१ सम्म रुद्रबहादुर कार्की, २०३१ देखि ०३२ सम्म दीलिपकुमार पालिखे र त्यसपछिको ७ महिना रमेशबहादुर भट्टराई मेयर बने ।
२०३२ देखि २०३८ सम्म गणेश शेरचन, २०३८ देखि ०३९ सम्म श्रीप्रसाद गुरुङ, २०३९ देखि ०४१ सम्म उत्तमबहादुर पुन, २०४१ देखि २०४६ सम्म सूर्यबहादुर केसीले मेयरका रुपमा काम गरे । २०४९ पछि भने स्थानीय निकायको रुपमा निर्वाचन भयो । पहिलो मेयरको रूपमा कांग्रेसका भोला थापा निर्वाचित भए ।
२०५४ मा अहिलेका एमाले उम्मेद्वार कृष्ण थापा नै मेयर भएर काम गरिसकेका छन् । त्यसपछि २०६० सालमा हर्कबहादुर गुरुङलाई राजाले मेयरमा नियुक्त गरे । २०६२ सालमा चुनाव भयो, तर तत्कालीन ७ दलले बहिस्कार गरे । भीमसेन थापा राप्रपाबाट मेयर बने ।
नयाँ संविधान जारी भएपनि राज्य पुनः संरचनाबाट २०७४ मा पोखरा महानगरपालिका बन्यो । एमालेका मानबहादुर जिसी १४ औँ मेयरका रूपमा निर्वाचित भएका थिए ।
उनको ५ बर्से कार्यकाल सकिएपछि अहिले १५ औँ मेयरका रुपमा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका आचार्य पोखराको बागडोरमा पुगेका छन् । पोखराको मेयरमा २३ जनाको प्रतिस्पर्धा थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।