गण्डकीमा एमालेलाई धक्काको कारकः पृथ्वीसुब्बा गुरुङ–खगराज अधिकारी ‘वार’

गण्डकी प्रदेशको एक मात्र महानगर पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट फुटेर बनेको दल नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले राम्रो मतान्तरसहित अग्रता लिइरहेका छन् । उनले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापालाई पछाडि पारिरहेका छन् । 

योसँगै पोखरा महानगरपालिकाको मेयरमा आचार्य निर्वाचित हुने लगभग निश्चित भएको छ । एकीकृत समाजवादीका आचार्यलाई त्यहाँ सत्तारुढ पाँच दलको गठबन्धनको सहयोग रहेको थियो ।

गण्डकीमा पोखराबाहेक अन्य पालिकाको नतिजा आइसकेको छ । गण्डकीका ८५ पालिकामध्ये नेपाली कांग्रेसले ३६ पालिकामा जित हासिल गरेको छ । गण्डकीमा दोस्रो नम्बरमा रहेको छ, नेकपा एमाले । एमालेले ३५, माओवादी केन्द्रले ११ र जनमोर्चाले २ पालिकामा जित हासिल गरेका छन् ।

नेपाली कांग्रेसका लागि २०७४ को स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा यसपटक गण्डकी प्रदेशमा घाटा लागेको छ । यसअघि नेपाली कांग्रेसले गण्डकीमा ४४ पालिकामा जित हासिल गरेको थियो ।

पालिकाको संख्याको आधारमा नेकपा एमालेले २०७४ मा पनि ३५ वटा पालिकामा जित निकालेको थियो । तर, उसले पोखरा महानगर यसपटक गुमाउनु परेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा एमालेले मेयरमा मात्र होइन, उपमेयरमा पनि जित निकालेको थियो । सँगसँगै वडाध्यक्षहरुमा पनि एमालेको बर्चश्व रहेको थियो । ३३ वडा भएको महानगरमा २२ वडामा एमालेले जित निकालेको थियो । तर,  यसपटक पोखरा महानगरका वडामा पनि एमालेले निराशाजनक प्रदर्शन गरेको छ ।

र, पोखराका एमाले नेता तथा कार्यकर्ताहरु यसको कारणका रुपमा हेर्छन्, त्यहाँ एमालेका दुई नेता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको ‘वार’ । गण्डकी प्रदेशमा आफ्नो प्रभाव देखाउन त्यही प्रदेशमा मुख्यमन्त्री भइसकेका पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय गृहमन्त्री भइसकेका खगराज अधिकारीले टिकट वितरण देखि नै गण्डकीमा चलखेल सुरु गरेका थिए । 
 



फलस्वरुपः एमालेले पोखरामा पहिले जसलाई मेयर पदका लागि टिकट दिएको थियो, उनको टिकट खोसियो । एमालेले सुरुमा दीपक पौडेललाई मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

तर, उनको विषयमा व्यापक विरोध हुन थाल्यो । कतिसम्म भने उनले एक सुन पसलमा सुन चोर्दै गरेको भिडियोसमेत बाहिर ल्याइयो । फलतः एमालेले उनको टिकट खोस्यो र कृष्णबहादुर थापालाई मेयर उम्मेदवार बनायो । उम्मेदवार टुंगो लगाउने विषयमा नै यो विवाद देखिनुमा पनि खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको प्रतिस्पर्धाले काम गरेको स्थानीय एक एमाले नेताले बताए । 



प्रदेश सांसदसमेत रहेका ती नेताले भने, ‘यहाँ सुरुमा टिकट वितरणमा जुन गन्जागोलको अवस्था एमालेले सामना गर्न परेको थियो, त्यसका कारण पनि हामीले निर्वाचनमा राम्रो प्रदर्शन गर्न सकेनौँ ।’ उनले यसमा गण्डकी प्रदेशका एमालेका नेताहरुबीच एक मत नहुनु नै कारण रहेको बताए । 

‘पोखरा मेयरको उम्मेदवारलाई गण्डकीमा एमालेका नेताहरुले नै आफ्नो प्रतिस्पर्धा र जितजसरी लिनुभयो,’ उनले फरकधारसँग भने, ‘यसका कारण अहिलेको अवस्थामा एमाले खुम्चिएको हो ।’

पौडेललाई मेयर उम्मेदवार बनाउन त्यति बेला पृथ्वीसुब्बा गुरुङ लागेका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट दुवै नेता पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीले चाहिँ आफू पक्षधरलाई टिकट दिन चाहेका थिए । ओलीले गुरुङको सिफारिसमा बढी भर गरेपछि त्यति बेला नै खगराज अधिकारी गण्डकीका अरु नेताहरु लिएर ओली भेट्न बालकोट पुगेका थिए । 

बालकोटमा उनीहरुले छलफल गरिरहँदा पोखराबाट नै पौडेलले सुन पसलमा चोरी गरेको भनेर दाबी गरिएको भिडियो सामाजिक सन्जालमा भाइरल भइसकेको थियो । यही विवादका कारण अधिकारी र उनीसँग गएका नेताका समूहको कुरालाई सुन्न तयार भए, ओली । अन्ततः पौडेलको टिकट खोसियो, कृष्णबहादुर थापालाई मेयर पदका लागि उम्मेदवार बनाइयो । पौडेल पृथ्वीसुब्बा गुरुङ निकट हुन् भने थापा अधिकारीनिकट ।

‘केन्द्रीय नेताहरुले प्रदेशमा आफ्नो प्रभाव बलियो देखाउन गरेको यो माथपच्चीले गर्दा अहिले एमालेले पोखरा गुमाउन पुगेको छ,’ एमालेका ती नेताले भने, ‘यसबारे पार्टीले व्यापक छलफल गर्नेछ र आगामि निर्वाचनमा यस्ता गल्ती दोहोर्याउने छैन भन्ने विश्वास हामीले लिएका छौँ ।’

  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार ११:१०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया