भरतपुर महानगरपालिकाको मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा माओवादी केन्द्रकी रेनु दाहालले आफूलाई भरतपुरवासीले पाँच वर्षको काम अनुमोदन गरिदिएकाले खुसी भएको बताएकी छिन् ।
उनले पाँच वर्ष गरेको काम अनुमोदन भएको भन्दै भरतपुरवासीलाई धन्यवाद पनि दिएकी छिन् ।
मंगलबार भरतपुरको अन्तिम मत परिणाम आएपछि रेनुले भारी मतान्तरले भरतपुरमा जित निकालेकी हुन् । त्यसपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनेकी छिन्, ‘भरतपुरमा देशभरको ध्यान थियो, विपक्षीहरुको पनि निशाना थियो । तर, त्यसलाई पर्वाह गरिएन, हामीले गरेको काम अनुमोदन भएको छ ।’
उनले अब आफ्नो अन्तिम कार्यकाल भएकाले यसपटक पाएको अवसरको सदुपयोग गर्ने बताइन् । अवसरलाई एक सेकेन्ड पनि खेर नफालेर जनतालाई निराश हुन नदिने उनको प्रतिबद्धता छ ।
‘पहिलो कार्यकालमा मैले जनताको भावना र अपेक्षाअनुसार काम गर्ने कोसिस गरेँ । मेरो बलबुता, क्षमता र तागतले भ्याएसम्मको मैले कोसिस गरेँ । म एउटा परीक्षण पार गरेर आएको छु । दोस्रो कार्यकालमा पनि विगतका अधुरा कामहरु र जनताले अपेक्षा गरेअनुसार सकेको कोसिस गर्नेछु,’ उनले भनिन्, ‘जनउत्तरदायी भएर, जनताको भावना बुझेर, विकासका अधुरा कामलाई पनि ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना सहर बनाउने संकल्प विगतदेखिकै थियो । त्यसलाई पूरा गर्न कटिबद्ध भएर अगाडि बढ्नेछु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।