२१ वर्षमा वडाध्यक्ष जितेका थापाले गरे १५ दिनमा काप्रीकोटवासीलाई खानेपानी दिने वाचा

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अब केही पालिकाको मात्र नतिजा आउन बाँकी छ । परिणाम आइसकेका स्थानमा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन् ।

उनीहरूले आफूले गर्ने कामको सूचीसमेत बनाउन थालेका छन् । आफू निर्वाचित पालिकालाई पाँच वर्षको कार्यकालमा नमूनायोग्य बनाउन नयाँ जनप्रतिनिधिहरू पनि जोसिएका छन् ।  

बझाङको जयपृथ्वी नगरपालिका–११ का नवनिर्वाचित वडाध्यक्ष सर्जन थापा पनि आफ्नो कार्यकाल सम्झनलायक बनाउन अगाडि बढेका छन् । उनको योजना वडा नम्बर ११ लाई हरेक क्षेत्रबाट ‘नमूना’ बनाउने छ । आगामी पाँच वर्षभित्र वडा नम्बर ११ वासीले स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा तड्पनु नपर्ने गरी काम गर्ने थापाको भनाइ छ । 

‘जयपृथ्वी नगरपालिका वडा नं. ११ का स्थानीयहरूले मलाई विश्वास गरी जिम्मेवारी दिनु भएको छ । यसलाई मैले कुनै पनि हालतमा असफल पार्न दिने छैन,’ २१ वर्षीय वडाध्यक्ष थापाले भने, ‘गाउँको विकास र वडावासीहरूका लागि मैले दिनरात नभनी काम गर्नेछु । पाँच वर्षपछिको कार्यकालमा सर्जनले यो वडालाई नमूना बनाएको भन्ने छाप छोडेर जाने मेरो सपना छ । म त्यसलाई साकार पार्न पूरा कोशिस गर्नेछु ।’ 

उनी आफ्नो वडाको समस्या पहिचान गरेर अगाडि बढ्ने योजनामा छन् । ‘वडा नम्बर ११ वासीको समस्या भनेको खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्र हो । त्योबाहेकका समस्या नै छैन भन्ने त होइन । तर मुख्य रूपमा मैले देखेका समस्या भनेको खानेपानी, स्वास्थ्य र शिक्षा हो । मेरो ५ बर्से कार्यकालमा वडाभित्र रहेका सबै सामुदायिक विद्यालयहरूलाई सूचनामैत्री विद्यालय र गुणस्तरीय शिक्षा दिन सक्षम विद्यालय बनाउने मेरो योजना रहेको छ । शिक्षा क्षेत्रको सुधार नै मेरो पहिलो लक्ष्य रहेको छ,’ वडाध्यक्ष थापाले भने ।

सदरमुकामकै स्थानीय तहभित्र वडा भए पनि यहाँ धेरै समस्या छन् । गाउँमा अहिले पनि विरामी पर्दा सामान्य उपचारका लागि चैनपुर धाउनुपर्ने अवस्था छ । यो समस्या समाधानका लागि आफूले पहल गर्ने वडाध्यक्ष थापाले बताए ।  



‘मैले वडाध्यक्षमा जितेको १५ दिनमा नै खानेपानीको हाहाकार भएको क्षेत्र काप्रीकोटमा खानेपानी दिने वाचा गरेको छु । मैले सोमबार मात्रै पदभार सम्हाले । अबको १५ दिनभित्र खानेपानीको चरम अभाव रहेको काप्रीकोट वस्तीका खानेपानी उपलब्ध गराउँछु,’ थापाले भने, ‘म बोलेका कुरालाई पूरा गर्नुपर्छ भन्ने मान्यता भएको मान्छे हो । त्यसकारण मैले भनेको कुरा भनेकै समयमा पूरा गर्नेछु ।’

रोजगारी सिर्जना गर्नका लागि युवालाई कृषिमा आकर्षित गराउन आफू सक्रिय रहने पनि उनले बताए ।  थापा गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका रतन थापालाई २ सय ५६ मतान्तरले हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । आइएसी एजी पढेका थापा निर्वाचनअघि गाउँमा नै कृषि फार्म सञ्चालन गरिरहेका थिए ।



  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १४:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया