काठमाडौंको मेयर बन्ने पक्का भएपछि बालेनले भने– हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुन्छ

काठमाडौं महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) बन्ने पक्काजस्तै छ । २० हजारभन्दा कम मतगणना बाँकी रहेको अवस्थामा उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार बढी मतले अगाडि छन् । 

मेयरमा विजय हुने पक्का भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका छन् । ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुँदैन,’ उनले लेखेका छन् । 

बालेनले अहिले नै विजय उत्सव मनाउने समय नभएको पनि उल्लेख गरेका छन् । उनले घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन् । ‘जीत–हारलाई मतगणना सकिएसँगै सकि दिउँ । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर, अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ,’ उनले भनेका छन्, ‘यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरूबाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नु भएको छ ।’  

आफ्नो विजय र्यालीमा सहभागी हुन काठमाडौंबाट बाहिरबाट पनि मानिसहरू आउन लागेको उल्लेख गर्दै अहिले यहाँ आउने दुःख नगर्न पनि उनले आग्रह गरेका छन् । ‘ठाउँठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्यालीका लागि काठमाडौं आउने दुःख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ,’ बालेनले भनेका छन्, ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ ।’ 

उनले अबको बाटो सहज नभएको उल्लेख गर्दै उनले लक्ष्य पूरा गर्न सबैको साथ आवश्यक रहेको बताएका छन् । ‘अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतीलाई प्रभाव पार्नेछ । हामीलाई साथ र सुझाव जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैं तपाईँहरूसँग जोडिरहेका हुन्छौँ ।’ 





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार ११:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया