प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका शेख अब्दुल कलाम आजाद पनि पराजित भएका छन् ।
रौतहटको गढीमाई नगरपालिकाको नगरप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका आजाद ५६८ मतको अन्तरले पराजित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आजाद नेपाली कांग्रेसका उम्मेदवार श्यामप्रसाद यादवसँग पराजित भएका छन् ।
यादवले ८ हजार ६३१ मत ल्याउँदा आजादले ८ हजार ७३ मत पाएका छन् । मतगणना सम्पन्न भएपछि आएको मतपरिणाम अनुसार आजाद दोस्रो नम्बरमै सीमित भएका हुन् ।
उनी प्रदेश सभामा विकास समितिका सभापति समेत थिए । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा समेत पराजित भएका थिए । त्यसपछि प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र ४ (२) बाट स्वतन्त्र उम्मेदवारी दिई उनी विजयी भएका थिए । विजयी भएपछि उनी जसपामा प्रवेश गरे ।
यसअघि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नगरप्रमुखको उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहासमेत पराजित भइसकेका छन् ।
सर्लाहीको गोडैता नगरपालिका प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा ५४२ मतको अन्तरले पराजित भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भए ।
यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाएका थिए ।
गोडैताको नगरप्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका कुशवाहा सर्लाहीको क्षेत्र नं. ४ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।