स्वतन्त्रबाट मेयर जितेका मनोज साह कांग्रेसको विजय जुलुसमा गएपछि आलोचना

सत्तारुढ गठबन्धनको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व गर्ने जिम्मा जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्र विद्रोह सुरु भयो । 

जसपाले जनकपुरधाममा नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुखको उम्मेदवारी दिने गठबन्धनको सहमतिपश्चात कांग्रेसका सयौँ असन्तुष्ट नेता–कार्यकर्ताहरूले गत बैशाख ९ गते सामूहिक राजीनामा दिए । 

गठबन्धनमा कांग्रेसलाई जनकपुरधामको मेयर नपरेपछि यहाँका स्थानीय नेता तथा कार्यकर्ताहरू विरोधमा उत्रिए ।

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोजकुमार साहलगायतका नेताहरू पत्रकार सम्मेलनकै आयोजना गरी सामूहिक राजीनामा दिएका थिए ।

नगरसभापति साहले पार्टीको साधारण सदस्य समेत नरहनेगरि पदबाट राजीनामा दिँदै मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिए । 

साहसहित कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहसहित साढे दुई सय सक्रिय सदस्यले राजीनामा दिएका थिए । 



पार्टीलाई २४ घण्टे अल्टिमेटम दिएको समय पुगेपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी साहसहित सयौँको संख्यामा नेता–कार्यकर्ताहरू राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।

जनकपुरधाममा कांग्रेस एक्लैले जित्न सक्ने अवस्था रहेको ठाउँमा गठबन्धन गरेर सभापति शेरबहादुर देउवाले ठूलो गल्ती गरेको आक्रोश पोख्दै मनोजले आफूहरुले राजीनामा दिएको बताएका थिए । 



जनकपुरधाममा काँग्रेस बलियो हुँदाहुँदै पनि पार्टीलाई सिध्याउन सभापति देउवाले यस्तो निर्णय लिएको आरोपसमेत उनले लगाएका थिए । 

भागबण्डाका आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी नेपालको भागमा परेपछि स्वतन्त्र उम्मेदवारी दिएका साह अन्ततः नगरप्रमुख पदमा निर्वाचित भएका छन् । 

तर, उनी स्वतन्त्रबाट घण्टाघर छापमा निर्वाचित भएको दुई दिन नबित्दै आज सामाजिक सञ्जालमा देखिएको एक तस्बिरले उनको आलोचना सुरु भएको छ । 

कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाका मतदातालाई धन्यवाद ज्ञापन गर्दै बुधबार निकालेको विजयी जुलुसमा नवनिर्वाचित नगरप्रमुख मनोज साहसमेत सहभागी रहेको देख्दा उनको आलोचना सुरु भएको हो । 

लोकतान्त्रिक युवा संघका धनुषा जिल्ला अध्यक्ष प्रशान्त झा सामाजिक सञ्जालमा प्रश्न गर्दै लेखेका छन्, ‘हिजो स्वतन्त्र उम्मेदवार हुँ भनेर मत मागे र मत लिइसकेकोपछि आज आफ्नो असली रूप देखाए । यसलाई स्वतन्त्रको नाममा मतदातासँग गरेको बेइमानी भन्न मिल्छ की नाई ?’

उनले चुनावको पूर्वसन्ध्यामा आफू कांग्रेसी नरहेको घोषणा गरेका नगरप्रमुख साह स्वतन्त्रबाट चुनाव लडेर आफ्नो पक्षमा नतिजा आएपछि यसरी मतदातालाई झुक्याउनु अशोभनीय रहेको टिप्पणी गरेका छन् । 

विजयोत्सवमा नगरप्रमुख मनोजसहित कांग्रेसकै नेता कार्यकर्ताको भीड उर्लिएपछि धेरैले टिप्पणी र आश्चर्य मानेका छन् ।

बुधबार जनकपुरधाम उपमहानगरमा कांग्रेसले निकालेको विजयी जुलुसमा कांग्रेसका सयौं नेता–कार्यकर्ता सहभागी भएका थिए ।

जुलुसमा कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार तथा कांग्रेसका सयौं कार्यकर्ता सहभागी थिए ।

यस सम्बन्धमा नवनिर्वाचित नगरप्रमुख मनोज साहले आफूले कांग्रेस परित्याग गरिसकेको अवस्थामा यस्तो कुप्रचारको कुनै तुक र अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । 

उनले आफू कांग्रेसमा प्रवेश नगरेको र नगरप्रमुखको हैसियतले सो जुलुसमा सहभागी भएको बताए । आफूलाई अब कुनै पनि राजनीतिक दलले कार्यक्रममा बोलाउँदा सहभागी हुनुपर्ने बाध्यतासमेत रहेकोले सोहीअनुरूप आजको जुलुसमा पनि सहभागी भएको उनको दाबी छ ।

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १९:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया