गेटा मेडिकल कलेजलाई अलपत्र पारेर प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा मेडिकल कलेज खोल्न लागेको भन्दै विरोध प्रदर्शन

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सरकारको नीति तथा कार्यक्रममा नसमेटिएपछि विरोध सुरू भएको छ । सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुदूरपश्चिममा डडेल्धुरामा मेडिकल सञ्चालन गर्ने कुरा उल्लेख गरेको छ । 
कैलालीको गेटामा करोर्डौका संरचना तयार भएको अवस्थामा सरकारले बेवास्ता गरेको भन्दै कैलालीका विभिन्न ठाउँमा विरोध भएको हो । 

मेडिकल कलेजको ९० प्रतिशत भौतिक पूर्वाधार तयार भइसकेको छ । कैलालीको गोदावरी नगरपालिका युवा नेता लोकराज पाण्डे ‘आगो’ले सरकार नीति कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिनु लजास्पद कुरो भएको बताए ।

‘सरकारले क्षमता भए प्रत्येक जिल्लामा मेडिकल कलेज सञ्चालन गरोस् । हामीलाई आपत्ति छैन । तर, गेटा मेडिकल कलेजलाई अलपत्र पार्ने काम स्वीकार्य हुँदैन,’ उनले भने । जटिल स्वास्थ्य समस्या भएकामा सुदूरपश्चिमका बिरामीले भारत वा काठमाडौं पुग्दा घरवार नै बेच्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।

‘प्रधानमन्त्री यहीँको हुनुहुन्छ । उहाँलाई निर्माण कार्य अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेजको चिन्ता छैन । आफ्नो निर्वाचन क्षेत्रका जनतालाई प्रभावित पार्न सिंगो सुदूरपश्चिमवासीको जीवनमाथि खेलबाड गर्दै डडेलधुरामा मेडिकल निर्माणको कुरा गर्नुभएको छ । जुन सरासर गलत छ,’ उनले भने । 

गेटा मेडिकल कलेज आर्थिक वर्ष ०७३–०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो । सरकारको नीति तथा कार्यक्रममा सञ्चालनका लागि आधारभूत संरचना तयारी अवस्थामा रहेको गेटा मेडिकल कलेज नअटाएपछि दबाबमूलक कार्यक्रम समेत सुरु भएका छन् ।
 
मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ । चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत रहेको र आयोजनाको कुल प्रगति करिब ९० प्रतिशत भएको उनले बताए । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्रावासलगायत संरचना निर्माणको काम सकिएको छ ।

६ सय शय्या क्षमताका २ वटा अस्पताल भवन निर्माणको काम सकिएको पुजाराले जानकारी दिए । यसका साथै अन्य २७ वटा भौतिक संरचना निर्माणको काम पनि सकिएको छ । खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढलपानी निकास, विद्युतको सबस्टेसन निर्माणलगायत काम भने बाँकी छ ।



अहिले आफूहरू विद्युतको सवस्टेसन निर्माणको काममा लागिरहेको पुजाराले बताए । उनले मेडिकल कलेज चलाउन मिल्नेगरी संरचना निर्माण भइसकेको जानकारी दिए ।

तर, यसपटक सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिमवासीले बहुप्रतिक्षीत योजनाको रुपमा हेरेको गेटा मेडिकल कलेजको विषय समावेश नहुँदा स्थानीय आक्रोशित बनेका छन् । 



अधिकारकर्मी शोभा रावलले जनताको भावना कुल्चिँदै गेटा मेडिकलको विषय नीति तथा कार्यक्रममा समावेश नहुनु आपत्तिको विषय भएको बताए । ‘हामी आगामी बजेटमा गेटा मेडिकल कलेजको विषय समावेश नभए आन्दोलन गर्नेछौँ । सरकारले क्षमता भए टोलटोलमा मेडिकल कलेज खोलोस् । हामीलाई आपत्ति छैन । तर, निर्माण कार्य अन्तिम चरणमा पुगेको योजनालाई अलपत्र पारेर नयाँ मेडिकल कलेजको अवधारणा अगाडि ल्याउनु गलत हो,’ उनी भन्छन् । 

‘गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने कि ? स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कि ? अत्याधुनिक अस्पताल बनाउने कि ? के बनाउने भन्ने विषयमा सरकार अझै अन्योलमा छ,’ उनले भने, ‘हामीलाई जे बनाए पनि आपत्ति छैन । तर, सुलभ रुपमा विशेषज्ञ सेवा सञ्चालन हुनुपर्छ । जनताले सुलभ रुपमा  उपचार पाउनुपर्छ ।’

कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले राज्यले कैलालीवासीलाई हेपेको अनुभूति आफूलाई भएको बताएका छन् । पटक–पटक गेटा मेडिकल कलेज चाँडो सञ्चालनका विषयमा आफूहरूले सरकारको ध्यानाकर्षण गराउने गरेको भए पनि त्यो सुनुवाइ नहुने गरेको उनको गुनासो छ ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले आफूहरूले गेटा मेडिकल निर्माणको प्रक्रियालाई गति नदिए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले डडेलधुरा मेडिकल कलेज बनाउने भन्ने विषय पार्टी सभापति एवं प्रधामन्त्री शेरबहादुर देउवाको चुनावी फण्डा भएको आरोप लगाए । 

‘गलत कदमका विरुद्ध हामी बोल्नुपर्छ । यो सुदूरपश्चिमका जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने रणनीति हो । यसले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्र थप २० वर्षपछि धकेलिन्छ,’ उनी भन्छन् ।

शिक्षाविद् प्रा.डा. हेमराज पन्तले पनि सरकारको नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको कुरा नसमेटिनु निराशाजनक भएको बताए । यसले राज्यको सुदूरपश्चिमप्रति हेर्ने दृष्टिकोण प्रष्ट भएको उनले बताए । राज्य जनताको स्वास्थ्यप्रति गम्भीर र जिम्मेवार हुनुपर्नेमा त्यस्तो हुन नसक्नु निकै दुःखद् भएको उनले बताए । 

सरकारले तत्काल गेटा मेडिकल कलेजको विषय प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले माग गरे । गेटा मेडिकल कलेज बने दिनहुँ सयौं नेपाली उपचारका लागि भारत गइरहेकोमा त्यो रकम बाहिरिनबाट जोगिने उल्लेख गरे ।

अत्तरियामा विरोध
 
कैलालीको गोदावरी नगरपालिकामा रहेको गेटा मेडिकल कलेज सञ्चालनको कार्य अगाडि बढाउनु पर्ने भन्दै बुधबार अत्तरिया चोक विरोध प्रदर्शन गरिएको छ । बुधबार संघर्ष समिति र युवाहरुको समूहले कैलालीको अत्तरियामा दबाबस्वरुप एक घण्टा चक्काजाम समेत गरे ।

स्थानीयले छिटो भन्दा छिटो गेटा मेडिकल कलेज सञ्चालनमा आउनुपर्ने बताएका छन । कुनै पनि बाहानामा यसलाई रोकेर अन्य ठाउँमा  मेडिकल कलेज खोल्ने कुरा स्वीकार्य नहुने उनीहरुको भनाइ रहेको छ । स्थानीयहरुले आफ्ना मागहरु पुरा नभए चरणबद्ध रुपमा आन्दोलन समेत गर्ने चेतावनी दिएका छन् ।

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १९:३८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया