हेटौँडामा छैठौं हार बेहोरेका दीपक सिंह भन्छन् - बाँकी जीवन मकवानपुरकै जनताको सेवामा समर्पण गर्छु

स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक सिंहले प्रतिस्पर्धीलाई कडा टक्कर दिए ।

३० वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टबाट हेटौँडा महानगरपालिकाको मतगणना सुरु भएको थियो । सिंह एकीकृत समाजवादी र नेकपा एमालेका उम्मेदवारसँग कडा प्रतिस्पर्धा गरेको भए तापनि अन्ततः पराजित भए । हेटौँडाको मेयरमा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले बाजी मारिन् ।

यद्यपि दीपकले लामा र पौडेललाई बलियो चुनौती दिएका थिए । मीना र नेकपा एमालेका अनन्त पौडेलको कडा चुनावी भीडन्त हुने अनुमानका बीच सिंहको प्रवेशले हेटौँडाको मतगणना महोललाई रौनकता थपेको थियो । साथै उनले हेटौंडामा पनि उल्लेख्य मतसँगै चर्चा पनि बटुल्न सफल भएका थिए । मतगणनाका क्रममा कहिले पहिलो कहिले दोस्रो हुँदै कडा चुनौती दिएका दीपक अन्त्यमा तेस्रोमा चित्त बुझाउनु पर्‍यो ।

गठबन्धनका दल र एमालेलगायतका पार्टीदेखि हेटौंडाका नागरिक दिक्क भएको अनुमान गरेर आफू निर्वाचनमा होमिएको उनको प्रतिक्रिया छ । उनले आफू जित्ने आत्मविश्वासका साथ चुनावी अभियानमा खटिएको पनि दाबी गरे ।

उनले निर्वाचनअघि अघिल्ला निर्वाचनमा पनि उम्मेदवार बनेको र त्यस बेलाको मतको आधारमा जित आफ्नो पोल्टामा पर्ने ठोकुवा गरेका थिए । यद्यपि उनले पराजय बेहोर्नुपर्यो । र, उनी योसँगै छैठौं पटक हार बेहोरेका छन् ।

पटक-पटक हार बेहोरेका दीपकले अब के गर्छन् भन्ने सबैको चासो छ । उनले बाँकी जीवन हेटौँडामा नै रहेर मकवानपुरबासीको सेवा गरेर बिताउने बताएका छन् । हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सन्देशमा सिंहले अब मकवानपुरमै रहेर जनताको सेवामा लाग्ने बताएका छन् । उनले नयाँ नेतृत्वले पक्षपात नगरी नगरलाई भ्रष्टाचारमुक्त बनाउने विश्वास आफूले लिएको बताएका छन् ।



सिंहले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै अबको आफ्नो जीवन मकवानपुरमै बिताउने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अब उप्रान्त मेरो जीवन मकवानपुरमै बसी, मकवानपुरकै जनताको सेवा, सुखदुःख र विकासमा समर्पण गर्ने प्रण गर्छु । कथंकदाचित् आमजनताले लगाएको यो जनमतको ऋण मैले तिर्न सकेनछु भने यो ऋण मेरो पार्टी र मेरो परिवारले तिर्नेछ भन्ने विश्वास दिलाउन चाहान्छु ।’

हेटौंडाको मेयर लडेका सिंहले २० हजार ५३१ मत ल्याउँदै तेस्रो बनेका थिए । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी लामाले २३ हजार ७५ मत ल्याउँदै मेयरमा विजयी भएकी थिइन । यो पटकको उम्मेदवारीसँगै सिंहको यो छैठौं पटकको उम्मेदवारी हो ।



पाँच पटकसम्म स्थानीय तहदेखि संविधानसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए । २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका राप्रपाको तर्फबाट उम्मेदवार रहेका उनी प्रत्यासी डोरमणि पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो ।

त्यस्तै २०५६ सालको संविधानसभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका दीपक नेकपा एमालेका पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए भने २०७० सालको क्षेत्रीय निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ पराजित हुन परेको थियो ।

त्यस्तै, २०६३ र ०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फबाट उम्मेदवार बनेर पनि पराजय बेहोरेका थिए ।

को हुन् सिंह ?

बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहको कोखबाट विसं २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी । दीपक ७/८ वर्षको हुँदा आमाबुबाले उनलाई लिएर हेटौंडा आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोवास हेटौंडा बन्यो ।

माध्यमिक शिक्षा भुटनदेवी विद्यालयबाट लिएका दीपकले वीरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका हुन् । दीपकका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण राजनीतिक यात्रामा थिएनन् । तर, दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भयो ।

२४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । यसै क्रममा विभिन्न संघसंस्थामा आवद्ध उनी सुरुवातदेखि नै राप्रपामा आवद्ध छन् ।

  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार १९:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया