आगोले जलेकी लोकशरीलाई छाडेर काठमाडौं फर्कियो बुद्ध एयर

सुदूरपश्चिम प्रदेशको दुर्गम जिल्ला बाजुराकी लोकशरी कुँवर यही ३ जेठमा आगाबाट जलिन् । घरमा काम गर्ने क्रममा उनको शरीर जलेको थियो । त्यसपछि कुँवरलाई छिमेकी जिल्ला अछामको बयलपाटा अस्पताल पुर्याइयो । बयालपाटा अस्पतालले त्यहाँ उपचार गर्न नमानेपछि कुँवरलाई रिफर गर्यो ।  

बूढीगंगा नगरपालिका–१० की २३ वर्षीया कुँवरको आर्थिक अवस्था निकै कमजोर छ । उपचार गर्नका लागि आर्थिक स्थिति कमजोर हुँदा उनी बेडमै थन्किएकी थिइन् । उपचारका लागि कुँवरसँग काठमाडौं जान पैसा नभएको खबर सुनेपछि बाजुराका पत्रकार प्रकाश सिहंले सहयोगी संस्थासँग सहयोग मागेका थिए ।

सिंहको अनुरोधमा पाटन अस्पतालमा एक संस्थाले उपचार गरिदिने भनेपछि बिरामीका श्रीमान् एकेन्द्र कुँवरले बुधबार उनलाई जहाजबाट काठमाडौं लैजाने तयारी गरे । त्यसका लागि उनीहरू बुधबार बिहान नै कैलालीको धनगढी पुगे ।  

कुँवर दम्पतीले काठमाडौंका लागि बुद्ध एयरको जहाजमा साँझ ७ बजेर २५ मिनेटको टिकट काटेका थिए । उनीहरू काठमाडौं जान ६ बजे नै धनगढी  विमानस्थल पुगिसकेका थिए । तर, विमानस्थलमा पुगेपछि बुद्ध एयरलाइन्सले बिरामीलाई काठमाडौं लैजान मानेन । 

बुद्धले बोर्डिङ गरेर पनि प्यासेन्जर नचढाएको बिरामीका श्रीमान् कुँवरले बताए । विमानस्थल कर्मचारीले भने आगोले पोलिएकी लोकशरीलाई अवलोकन गरेर मात्रै जहाजमा बसाउने जवाफ दिएको बिरामीसँगै रहेका स्वास्थ्यकर्मी दीपक शाहले बताए ।

‘विमानस्थलका कर्मचारीले बिरामीलाई अवलोकन गरेपछि मात्रै जहाजमा बसाइने बताएपछि बिरामीलाई ह्विल चेयरमा राखियो । तर, विमान डिले भयो,’ स्वास्थ्यकर्मी शाहले भने, ‘बिरामीले करिब २ घण्टा कुर्नुपर्ने भएपछि उनलाई अलि असहज भएको थियो । बिरामीको नितम्बमा समेत पोलिएकाले उनी समय–समयमा मिलाएर बसिरहेकी थिइन् । त्यही देखेर विमानस्थलले तपाईंको बिरामीलाई लग्न मिल्दैन भन्यो ।’ 



उनका अनुसार जहाज ढिलो भएकाले राति ९ बजे मात्रै विमानस्थलमा अवतरण गरेको थियो ।  आफूहरूले धेरै अनुरोध गरेपछि विमानस्थलले बुद्ध एयरका पाइलटलाई सोध्ने बताएको शाहले बताए । तर, पाइलटले समेत बिरामीलाई नलैजाने भनेपछि आफूहरू राति १० बजे विमानस्थलबाट फर्किएको शाह बताए । 

‘जति गुहार गर्दा पनि बिरामीलाई लिन नमानेपछि एम्बुलेन्स खोजेर रातको ११ बजे काठमाडौं हिँड्यौँ,’ शाहले भने । 



बुद्ध एयरलाइन्सले विरामी बोक्न नमानेपछि पत्रकार शाहले आक्रोश व्यक्त गरेका छन् । ‘कस्तो अचम्म ! विरामी, अशक्त र इमर्जेन्सी उपचार गर्ने खालका मानिसलाई नलाने रहेछ । यो प्राइभेट सेवाको दादागिरी हो वा के हो? एयरपोर्टमा कुराएर अन्तिममा नलिनु भनेको मानवता पनि नभएको हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

बुद्ध एयर धनगढीका व्यवस्थापक बुद्धराम चौधरीले पहिले नै जानकारी गराएमा स्टेचर उपलब्ध गराएर लिन मिल्ने बताए ।  ‘ती बिरामी ह्विल चेयरमा बस्न नसक्ने अवस्था थिइन्, अनि कसरी माथि डेढ घण्टा बस्न सक्थिन् । दिउँसै खबर गरेर स्टेचर चाहियो भनेको भए उहाँलाई लग्न सकिन्थ्यो । तर, उहाँहरूले नर्मल टिकट काट्नुभयो,’ चौधरीले भने । 

उनले अगाडि जानकारी गराएमा जुनसुकै बिरामीलाई पनि स्टेचरमा राखेर जहाजबाट लग्न सकिने बताए । ‘त्यहि फ्लाइटमा हामीले ढाड भाँचिएको बिरामीलाई स्टेचरबाट पठाएका छौं । तर, ती महिला बस्न नसक्ने भएपछि लग्न असमर्थ भयौं,’ व्यवस्थापक चौधरीले भने । 

  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १३:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया