निधिलाई प्रमुख अतिथि बनाएपछि जनकपुरधामका एमाले जनप्रतिनिधिले गरे शपथ बहिष्कार

जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिइरहँदा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले सो कार्यक्रम बहिष्कार गरेका छन् ।

उपमहानगरका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरुका साथै वडा सदस्यहरुलाई नगरप्रमुख मनोज साहले शपथ ग्रहण गराइरहँदा एमालेबाट निर्वाचित जनप्रतिनिधिले भने सो कार्यक्रम बहिष्कार गरेका हुन् ।
  
उनीहरुले कार्यक्रममा सहभागितासमेत जनाएका छैनन् । कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई बनाइएपछि उनीहरूले कार्यक्रम बहिष्कार गरेका हुन् । एमालेबाट निर्वाचित सातजना वडाध्यक्षसहित वडा सदस्य गरी ३६ जना जनप्रतिनिधि शपथ ग्रहणमा सहभागी भएनन् ।

जनकपुरधामको नगरप्रमुखमा स्वतन्त्र भएर निर्वाचित भएका नगरप्रमुख मनोजकुमार साहले कुनै पार्टी विशेषको व्यक्तिलाई प्रमुख अतिथि बनाएकाले आफूहरु कार्यक्रममा सहभागी नभएको एमालेबाट जनकपुरधाम–१२ मा निर्वाचित वडाध्यक्ष उपेन्द्र सहनीले बताए । 

आफूहरुका अलग्गै शपथ ग्रहण कार्यक्रम राख्ने विषयमा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायसँग समेत कुराकानी भएको नेकपा एमालेबाट निर्वाचित वडा नम्बर–८ का वडाध्यक्ष दिनेश सिंहले जानकारी दिए ।

दलीय भावनाभन्दा माथि उठेर विकासको यात्रालाई अगाडि बढाउन निधिको आह्वान



शपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्वउपसभापति एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले नवनिर्वाचित जनप्रतिनिधिलाई दलीय भावनाभन्दा माथि उठेर विकासको यात्रालाई अगाडि बढाउन आह्वान गरेका छन् । 

उनले जनकपुरधामको समग्र विकासका लागि दलीय राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । 



जनकपुरधाममा फोहोर व्यवस्थापन चुनौतीको रूपमा रहेको भन्दै उनले यसलाई विशेष प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरे ।

निधिले जनकपुरधाम फैलिइरहेकोले आउटर रिङरोड निर्माणको योजनासमेत अघि सार्न नवनिर्वाचित पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् । 

उनले धार्मिक पर्यटन, सांस्कृति पर्यटन, व्यापार प्रवर्द्धनका लागि जनकपुरलाई भारतको कोलकत्ता र अयोध्या जोड्न जरुरी रहेकोले यसका लागि काम गर्न नवनिर्वाचित प्रतिनिधिलाई सुझाब दिए ।

जसपाले जनकपुरमा कांग्रेसले धोका दिएको आरोप लगाइरहँदा निधिले मेयरमा निर्वाचित मनोज साह बागी भएर नभई स्वतन्त्र चुनाव लडेको जिकिर गरे ।

उनले भने, ‘लालकिशोर साह, शिवशंकर साह, जानकीराम साह पनि पूर्वकांग्रेसी नै हुनुहुन्छ । जमानामा महन्थ ठाकुर र वृषेशचन्द्र लाल पनि कांग्रेस नै हुनुहुन्थ्यो । सबैजनालाई कांग्रेसमा आउन मेरो आग्रह छ ।’

  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १८:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया