काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन् । बालेन भारी मतान्तरले विजयी भएका हुन् । उनी ६१,७६७ मत मतसहित काठमाडौंको मेयरमा निर्वाचित भए ।
त्यस्तै, सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले ३८,३४१ मत प्राप्त गरिन् । एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहे । उनले ३८,११७ मत प्राप्त गरे ।
आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।
त्यस्तै, काठमाडौंको उपमेयरमा सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले हराउँदै उपमेयरमा निर्वाचित भएकी हुन् । सुनिताले ६८ हजार ६१२ मत पाएकी छन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्।
को हुन् बालेन
३१ वर्षीय साह पेशाले इन्जिनियर हुन् । त्यस्तै, उनी नयाँ पुस्ता माझ र्यापरका रूपमा पनि परिचित छन् । उनी काठमाडौंको गौरीगाउँमा जन्मिएका हुन् । साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी छोरा हुन् ।
उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनी २०७२ सालको महाभूकम्पपछि उद्धार र राहतको काममा सक्रिय थिए ।
गठबन्धन र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै उनी नेपालकै सबैभन्दा ठूलो महानगरको शक्तिशाली मेयर बनेका छन् । स्थानीय तहको सेवालाई अनलाइन प्रणालीमा जोड दिने योजना बनाएका छन् । काठमाडौंको फोहोर अस्तव्यस्त सडक व्यवस्थापन प्रमुख मुद्दाका रूपमा अघि सारेका छन् ।
को हुन् सुनिता ?
'मिस नेवा २०११' की विजेता ३१ वर्षीया डंगोल काठमाडौंको लगन टोल निवासी हुन् । बायोटेक्नोलोजीमा स्नातक गरेकी डंगोलले नेपाल टेलिभिजनमा बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन् ।
उनले विभिन्न संस्थामा रहेर सामाजिक काम पनि गर्ने गर्थिन् । नेपाल भाषाको रञ्जना लिपीको प्रवर्द्धनकी अभियन्तासमेत रहेकी डंगोल सम्पदा बचाऊ अभियानमा सक्रिय छिन् ।
उमपेयर सुनिताले आफ्ना आठ खम्बे विकास मोडेल अघि सारेकी थिइन् । ८ खम्बे विकास मोडेलमा उनले ‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मूल नारासहित काठमाडौं महानगरलाई सांस्कृतिक शहर बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले काठमाडौं शहरमा गर्नुपर्ने कामहरूलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन भनेर तीन चरणमा वर्गीकरण गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।