बालेनलाई बधाई दिँदै सिर्जनाले भनिन्- कार्यकालभरी रचनात्मक सहयोग र साथ रहनेछ

काठमाडौं महानगरपालिकाको मेयरका लागि सत्ता गठबन्धनबाट उम्मेदवार रहेर पराजय बेहोरेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले नवनिर्वाचित मेयर/उपमेयर र वडाध्यक्षलाई बधाई दिएकी छन् ।

उनले मेयर, उपमेयर, वडाअध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिलाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएकी हुन् ।

‘काठमाडौं महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरबासीको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु,’ सिंहले भनेकी छन् । 

उनले निर्वाचनमा खटिएका र मतदान गर्ने सबैलाई पनि धन्यवाद दिएकी छन् । आफू मेयरमा निर्वाचित नभए पनि महानगरबासीको मन जित्न सफल भएकी पनि उल्लेख गरेकी छन् । सिंहले मत परिणामलाई हार्दिकतापूर्वक स्वीकार गर्ने पनि बताएकी छन् । 

‘विजयी हुने गरी मत ल्याउन सकिनँ तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु,’ उनले भनेकी छन् । 

सिंहले काठमाडौं महानगरवासी र सिंगो देशको सेवामा आफू उत्साहपूर्वक लागिरहने संकल्प पनि व्यक्त गरेकी छन् । उनले ३८ हजार ३ सय ४१ मत प्राप्त गरिन् । 



स्वतन्त्र उम्मेदवार शाह ६१ हजार ७ सय ६७ मतसहित मेयर निर्वाचित भए । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार १ सय १७ मत ल्याए । 



  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ६:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया