आइपिएल : राजस्थान फाइनलमा, उपाधिका लागि गुजरातसँग भिड्ने

इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा राजस्थान रोयल्स ​प्रवेश गरेको छ । गए रातिको दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले हराउँदै राजस्थान राेयल्स उपाधि नजिक पुगेको हो ।

राजस्थानले उपाधिका लागि आइतबार  गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई नै हराउँदै फाइनल पुगेकाे थियाे । सन् २००८ काे पहिलाे संस्करण विजेता राजस्थानले त्यसयता पहिलाेपटक फाइनलमा स्थान बनाएकाे छ ।

राति भएकाे खेलमा  बैंगलाेरले दिएकाे १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । राजस्थानका लागि जोस बट्लरले अविजित १०६ रनको शतकीय पारी खेले । ६० बलकाे सामना गरेका उनले १०  चाैका र ६ छक्का प्रहार गरे ।

जारी आइपिएलमा बट्लरकाे याे चाैथाे शतक हाे । याेसँगै उनले २०१६ मा बैंग्लोरका विराट कोहलीले प्रहार गरेको एकै सिजनमा सर्वाधिक ४ शतकको कीर्तिमान बराबरी गरेका छन् ।

खेलमा कप्तान सञ्जु स्यामसनले २३ तथा यशस्भी जैसवालले २१ रन बनाए ।​ बैंग्लोरका जोश हेजलउडले दुई तथा वानिन्दु हसरंगाले एक विकेट लिए ।

त्यसअघि अहमदाबादस्थित नरेन्द्र माेदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएकाे थियो ।



बैंग्लोरका रजत पटिदारले ५८ रनको अर्धशतकीय पारी खेले । उनले ४२ बलमा चार चाैका र तीन छक्का प्रहार गरे । कप्तान फाप डु प्लेसिसले २५ , ग्लेन म्याक्सवेलले २४ र साहबाज अहमदले अविजित १२ रन जाेडे ।

राजस्थानका प्रशिद्ध कृष्ण र ओबेड म्याककोयले तीन/तीन तथा ट्रेन्ट बाेल्ट र रवीचन्द्रन आश्विनले एक/ एक विकेट लिए ।
 



  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार ९:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया