\
बैतडीमा यही २४ जेठमा जिल्ला समन्वय समितिको चुनाव हुने भएको छ । कार्यपालिकाको चुनाव सम्पन्न १० दिनभित्र जिल्ला समन्वय समितिको चुनाव गरिसक्ने प्रावधान अनुसार २४ जेठका लागि चुनाव गर्ने मिति तोकिएको बैतडीका मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।
९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका समेत प्रकाशन गरिसकेको छ । एक जना प्रमुख, एक जना उपप्रमुख, तीन जना महिला सदस्य, एक जना दलित वा अल्पसंख्यक सदस्य र तीन जना खुला सदस्य गरेर ९ जनाका लागि चुनाव हुने बताइएको छ ।
जिल्ला समन्वय समितिको चुनावका लागि स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले मात्रै उम्मेदवार हुन पाउने प्रावधान रही आएको छ । यस्तै, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुने प्रावधान रही आएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागि जेठ १९ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचनका सबै प्रक्रिया पूरा गरेर जेठ २४ गते चुनाव हुने बताइएको छ ।
बैतडीमा जिल्ला समन्वय समितिका पदाधिकारीहरूको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादीले गठबन्धन गरेकाले समन्वय समितिको चुनावमा पनि दुवै दलले गठबन्धन गर्ने सम्भावना रही आएको छ । दुवै दलले गठबन्धन गरेमा उनीहरुको बहुमत पुग्ने देखिएको छ ।
बैतडीमा नेपाली कांग्रेसले पालिका प्रमुख र उपप्रमुख गरेर ९ सिट जितेको छ भने माओवादी केन्द्रले दुई सिट जितेको छ । यस्तै, नेकपा एमाले पालिका प्रमुख र उपप्रमुख गरेर ८ सिट जितेको छ । डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।