उपत्यकामा डेढ सय ट्राफिक लाइट आवश्यक, ४ वटा मात्रै चालु

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा १ सय ३९ वटा ट्राफिक लाइट आवश्यक रहेको देखाएको छ । ट्राफिक व्यवस्थापनसम्बन्धी ट्राफिक महाशाखाले गरेको एक अध्ययनअनुसार तीमध्ये ३५ स्थानमा ट्राफिक लाइट अत्यावश्यक रहेको देखाएको छ ।

काठमाडौ‌ं उपत्यकाका सडक सुरक्षा र व्यवस्थापनमा ट्राफिक लाइट अत्यावश्यक छ । तर, हाल उपत्यकाका चार स्थानमा मात्रै ट्राफिक लाइट चालु अवस्थामा रहेको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटा बताउँछन् । 

प्रवक्ता सपकोटाका अनुसार चालु अवस्थामा रहेका कतिपय ट्राफिक लाइट फलो गर्न सक्ने अवस्था छैन । ‘सवारी चाप अत्यधिक छ, एक ठाउँमा मात्र जडान गरिएको ट्राफिक लाइटबाट काम गर्नै सकिँदैन,’ फरकधारसँगको कुराकानीमा उनले भने, ‘सबै ठाउँका ट्राफिक व्यवस्थापन चुस्त नहुँदा एक स्थानमा मात्र चालु रहेको ट्राफिक लाइटको खासै औचित्य छैन ।’ 

२०२३ सालमा सुन्धारा, न्युरोड गेट, सिंहदरबार र दरबारमार्गमा पहिलोपटक ट्राफिक लाइट जडान गरिएको थियो । तर अहिले तीमध्ये कुनै पनि स्थानका ट्राफिक लाइट चालु अवस्थामा छैनन् । 

२०५८ सालमा जापान सरकारको सहयोगमा रिङरोडका विभिन्न स्थानमा र कोटेश्वर–भक्तपुर सडकमा जडान भएका २० वटा ट्राफिक लाइटमध्ये पनि धेरैजसो काम नलाग्ने अवस्थामा छन् । 

ट्रफिक लाइटको व्यवस्था नहुँदा ट्रफिक व्यवस्थापनमा ठूलो मानवीय जनशक्ति खपत भइरहेको छ । हाल काठमाडौँ उपत्यकाभित्र मात्रै १४ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको र ट्राफिक व्यवस्थापनमा २८ वटा मोटरसाइकल र अन्य सवारीसमेत प्रयोग भइरहेको सापकोटा बताउँछन् । 



उनका अनुसार अब अध्ययन र आवश्यकता पहिचान भएलगत्तै अत्यावश्यक स्थानमा स्वचालित ट्राफिक लाइटको व्यवस्था गरिनेछ । त्यसपछि, लाइट सिस्टमले नै चापअनुसार सवारी आवागमन सहज बनाउनेछ । 

स्वचालित ट्राफिक लाइट जडानपछि ट्राफिक व्यवस्थापन सरल र सहज रुपमा गर्न सकिने बताउँदै प्रवक्ता सापकोटा भन्छन्, ‘यो सिस्टमले दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुर्याउनेछ ।’ 



‘उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ,’ सापकोटा भन्छन्, ‘मानवीय जनशक्तिले मात्र अब ट्राफिक व्यवस्थापन सम्भव छैन ।’ प्रवक्ता सपकोटाका अनुसार ट्राफिक लाइट व्यवस्थापनका निम्ति महानगरले टेन्डर आह्वान गरिसकेको छ । 

  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार ६:३९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया