नगरवासीलाई धनगढीका मेयरको आग्रह : काममा ढिलासुस्ती भए फोन गर्नू

कैलालीको धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले सूचना दिनमा कुनै कञ्जुस्याई नगर्ने बताएका छन् । उनले उपमहानगरमा कुनै प्रकारका अनियमितता भएमा नगरवासीलाई उजुरी गर्नसमेत आग्रह गरेका छन् । 

‘कार्यपालिका संविधानभन्दा माथि छैन । सूचना दिनु हाम्रो दायित्व हो । हाम्रो प्रयास के रहन्छ भने नागरिकले सूचना माग्नुपर्ने होइन हामीले दिनुपर्ने संस्कारको थालनी गर्न चाहन्छौँ । सूचनाको लागि नगरपालिका धाउनु नपरोस्’, धनगढीमा भएको पत्रकार सम्मेलनमा उनले भने ।

उपमहानगरको कुनै गुनासो भएमा एउटा नम्बरसमेत उपलब्ध गराएको उनले बताए । ‘धनगढी उपमहानगरपालिकाका कुनै पनि काम गुणस्तरहीन भयो, ढिलासुस्ती भयो, कसैले घुस माग्यो नियमविपरीत कुनै पनि कार्य भइरहेछ भने सिधै ९८५८४८८८९५ ह्वाट्सएप नम्बरमा सम्पर्क गर्नुहोला’, हमालले भने । 

कर्मचारीहरूको कार्यशैलीमा पनि सुधार गर्न आफू प्रयासरत रहेको उनले बताए । ‘धनगढी कर्मचारीहरूले गर्दा बिग्रियो भन्ने जनमानसमा जुन प्रकारको छाप छ । त्यो कुरालाई सुधार गर्ने अहिले मौका आएको भन्ने गरेको छु । नियमभित्र रहेर काम गरी दिनुहोस् भन्ने अनुरोध गरेको छु ।’

हिजोका दिनमा के भयोभन्दा पनि अब के गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए । पञ्चवर्षीय आवधिक योजना बनाउनका लागि विज्ञहरुको सल्लाह अनुसार अगाडि बढ्ने उनले बताए । 

भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकरी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्नसमेत अनुरोध गरे ।



उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीले कतिपय सूचना दिन मिल्ने र नमिल्ने हुँदा सूचना वर्गीकरण गरी तत्काल सूचना उपलब्ध गराउने प्रतिबद्धता जनाए ।



  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १४:६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया