आइपिएल २०२२ मा फ्लप भएका पाँच भारतीय क्रिकेटर

नवप्रवेशी टोली गुजरात टाइटन्सलाई विजेता बनाउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को १५ औं संस्करण समाप्त भएको छ । टाइटन्स शनिबार भएको फाइनलमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै डेब्यु सिजनमै विजेता बनेको हो । 

लिगमा युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा धेरै अनुभवी खेलाडी भने पूर्णरूपमा असफल साबित भए । टी–२० विश्वकप आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुँदैछ । यस्तो अवस्थामा रोहित शर्मा, विराट कोहलीलगायत धेरै खेलाडीको खराब लयले भारतीय समर्थकमा चिन्ता थपिएको छ । यसैबीच, आज पाँच भारतीय क्रिकेटरको चर्चा गर्दैछौँ, जो यो सिजनको आइपिएलमा फ्लप भए :

१. रोहित शर्मा 

मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा यो आइपिएलमा असफल खेलाडीको सूचीमा रहे । १५ औं संस्करण उनका लागि सबैभन्दा खराब सिजन सावित भयो । १४ खेलमा उनले जम्मा २६८ रन मात्र बनाए । उनको ब्याटबाट एउटा पनि अर्धशतक निस्केन । रोहितको उच्च स्कोर ४८ रन थियो । उनले पूरै सिजनमा ६ खेलमा मात्र २० भन्दामाथि रन बनाउन सके ।

रोहितको खराब लयको असर मुम्बई इन्डियन्सको प्रदर्शनमा पनि देखियो । टोलीले आइपिएल इतिहासमा मात्र ४ खेल जित्दै पहिलोपटक अंक तालिकाको अन्तिम स्थानमा रह्यो । 

हालै रोहित शर्मालाई तीनवटै ढाँचामा भारतीय टोलीको कप्तान बनाइएको छ । यस्तो अवस्थामा उनको खराब फार्मले फ्यानहरुको चिन्ता बढाएको छ । रोहितले विश्वकप अघि लय समात्न सकेनन् भने यसले भारतीय टोलीलाई समस्यामा पर्न सक्छ । 



२. विराट कोहली

पछिल्लो दुई वर्षदेखि क्रिकेट मैदानमा औसत प्रदर्शन गर्दै आएका विराट कोहलीको ब्याट आइपिएल–१५ मा पनि शान्त रह्यो । कोहलीले यो सिजन १६ खेलमा २२.७३ को औसतमा ३४१ रन मात्र बनाउन सके । 



आइपिएलको एक सिजनमा २५ भन्दा कम औसत बनाएको यो सन् २००९ पछि यो पहिलो पटक हो । सन् २०१६ को आइपिएलमा एकै सिजन ४ शतक प्रहार गरेका कोहलीले आइपिएल–१५ मा मात्र दुई अर्धशतक बनाउन सके । कोहली यो सिजन ३ खेलमा गोल्डेन डक अर्थात् आफ्नो पारीको पहिलो बलमै आउट भए ।

३. रवीन्द्र जडेजा

रवीन्द्र जडेजालाई यो सिजनका लागि अघि चेन्नई सुपर किंग्सको कप्तान बनाइएको थियो । उनको कप्तानीमा रहँदा टोलीको मात्र नभएर आफ्नो व्यक्तिगत प्रदर्शन पनि खराब रह्यो । जसको असर स्वरुप जडेजाले सिजनको मध्यमै कप्तानी छाड्नुपरेको थियो । 

अलराउन्डर रविन्द्र जडेजाले आईपीएल २०२२ मा चेन्‍नईका लागि १० खेल खेल्दा उनको ब्याटबाट ११६ रन मात्रै निस्केका थियो । टोलीमा फिनिसरको भूमिका निर्वाह गरेका जडेजाले मात्रै ११८ को स्ट्राइक रेटमा ब्याटिङ गर्न सके ।

बलिङमा पनि जडेजाले १० खेलमा ५ विकेट मात्र लिन सके । विश्वका उत्कृष्ट फिल्डरमा गनिने जडेजाले क्याच पनि छोडेका थिए ।

४. ऋषभ पन्त

दिल्लीका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले यो सिजनको आइपिएलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेनन् । पन्तले सिजनका १४ खेलमा ३०.९१ को औसतमा ३४० रन मात्र बनाउन सकेनन् भने उनको ब्याटबाट एउटै पनि अर्धशतक निस्किएन । उनको उच्च स्कोर ४४ रन थियो । 

हालै दक्षिण अफ्रिकाविरुद्धको घरेलु शृंखलाको लागि भारतीय टोलीको उपकप्तान बनाइएका यी खेलाडी सिजनभर कप्तानको दबाबमा देखिए । आफ्नो विस्फोटक ब्याटिङ शैलीका लागि परिचित ऋषभ पन्तले सिजनका १४ खेलमा मात्र १६ छक्का प्रहार गरे ।

५. मोहम्मद सिराज 

आइपिएल २०२१ मा उत्कृष्ट प्रदर्शन गरेका मोहम्मद सिराजलाई २०२२ मा रोयल च्यालेन्जर्स बौंग्लोर (आरसीबी) ले ७ करोडमा रिटेन गरेको थियो । तर,उनले आफ्ना फ्यान र टोलीको अपेक्षा पूरा गर्न भने सकेनन् ।

प्रतियोगिताका १५ खेलमा सिराजले ५७.११ को औसतमा ९ विकेट मात्र लिए । सिराजको बलिङ आरसिबीका लागि निकै महँगो साबित भयो र उनले १०.०८ इकोनमीमा ५१४ रन खर्चिए ।

उनी आइपिएलको कुनै पनि सिजनमा ३० भन्दा बढी छक्का खाने पहिलो बलर बनेका छन् । सिराजले यो आइपिएलको कुनै पनि खेलमा आफ्नो छाप छाड्न सकेनन् । यी सबै खेलाडी भारतीय क्रिकेट टोलीका नियमित सदस्य हुन् । यदी उनीहरूको खराब लय कायम त्यसको प्रत्यक्ष असर टी–२० विश्वकप भारतलाई पर्नेछ । 

  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार १३:१८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया