बागमतीको नीति तथा कार्यक्रममा प्रतिपक्षको प्रतिक्रिया : नवीनता पाइएन, चुनावी घोषणापत्र जस्तो भयो

बागमती प्रदेशको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सोमबार सदनमा प्रस्तुत भयो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सत्ता पक्षका सांसदले यो नीति तथा कार्यक्रमले सबै वर्गलाई समेटेको बताए पनि सरकारको प्रतिपक्ष दलका सांसदले भने चित्त बुझ्दो नभएको बताउँदै कार्यान्वयन नहुने ठोकुवा नै गरेका छन् ।

प्रतिपक्षसँग छलफल नै नगरी कार्यक्रम ल्याइयोः अष्टलक्ष्मी शाक्य

नेकपा एमाले संसदीय दलकी नेता तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बजेट त आएको तर कार्यान्वयन नहुने खालको नीति तथा कार्यक्रम रहेको बताइन् ।

आयु सकिने समयमा नीति तथा कार्यक्रम पेश हुँदा लागू हुन नसक्ने शाक्यले बताइन् । 'नीति तथा कार्यक्रम बनाउँदा प्रतिपक्षलाई सोध्नु पर्थ्यो । हामी सरकारमा हुँदा सधैँ सोध्ने गरेका थियौं,’ उनले भनिन् आफ्नो सरकारको स्थायित्व गरी ल्याएको कार्यक्रम फलदायी नहुने शाक्यले बताइन् ।

‘निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको कात्तिक २७ र मंसिर १३ गते भनेर मिति तोकिसक्यो । तर, यो नीति तथा कार्यक्रम पेश भएको देख्दा पाँचै वर्ष सरकार नभएपनि लागू गर्नेजस्तो गरी ल्याएको छ । त्यसैले पनि यो नीति तथा कार्यक्रम लागू हुन सक्दैन’, उनले भनिन्, ‘नीति तथा कार्यक्रम बनाउँदै गर्दा प्रतिपक्षीसँग पनि छलफल गर्नुपर्थ्यो तर उहाँहरूले त्यस्तो गर्नुभएन । हामी हाम्रो पार्टीको तर्फबाट धारणा राख्छौँ ।’



उनले एकलौटी ढंगले ल्याएको कार्यक्रमले निरन्तरता नपाउने बताइन् ।

नीति तथा कार्यक्रम अस्पष्ट छ : रामेश्वर फुयाँल



बागमती प्रदेशका निर्वतमान भौतिक, यातायात तथा पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले यो कार्यक्रम लेखिरहँदा गत चार वर्षमा के भए र अब के हुनपर्छ भन्ने कुरामा नै ध्यान नदिएको बताए । 'प्रदेश प्रमुखले त पढेर सुनाउनु भयो । तर यो गठबन्धन सरकारले आफ्नो लायकपन देखाएन', उनले भने ‘सबै कार्यक्रमहरू राम्रा छैनन् त भन्दिनँ तर बजेटको कार्यान्वयको अद्यावधी समीक्षा गर्ने, त्यसपछि थप बजेट लिने भन्नुभयो । त्यो भनेको एकै वर्ष दुईवटा बजेट ल्याउने भनेको हो । त्यसैले नीति कार्यक्रम अस्पष्ट छ । जनताको अपेक्षाको सम्बोधन गर्नुपर्ने गरी पाँचौँ वर्षको नीति तथा कार्यक्रम ल्याउन पर्ने तर त्यस्तो हुन सकेन ।’

प्रस्तुत भएको नीति तथा कार्यक्रममा नयाँपन नभेटिएको फुयाँलले बताए । उनले गठबन्धन सरकारले ल्याएको कार्यक्रम निजी क्षेत्रलाई सबै कुरा सुम्पिएर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र राज्य शक्तिलाई कमजोर बनाउने प्रयास भएको बताए ।

कुनै नवीनता पाइएन : रमेश पौडेल

विवेकशील साझा पार्टी बागमती प्रदेशसभा संसदीय दलका नेता रमेश पौड्यालले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा नवीनता नभएको बताएका छन् ।

कार्यक्रम प्रस्तुत गर्नै पर्छ भन्ने मानसिकताले पुरानै कार्यक्रमलाई दोहोर्‍याउने काम गरिएको बताउँदै यो नीति तथा कार्यक्रम परम्परा धान्ने प्रचलन जस्तो मात्रै भएको बताए ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै उनले अघिल्लो वर्षमा जस्तो आएको नीति तथा कार्यक्रमकै निरन्तरता देखिएको बताएका हुन् ।

‘नीति तथा कार्यक्रममा कुनै नयाँ कुरा नयाँ योजनाहरु छन् की भनेर ध्यानपूर्वक सुन्दा पनि मैले कुनै नयाँपन पाइनँ । खासगरी सुशासनको मुद्दाहरूमा सरकारले मन्त्रालयका संख्या घटाएर केही सन्देश दिन सकिन्थ्यो । तर, त्यस्तो केही आएन’, उनले भने, ‘समग्रमा यो निराशाजनक छ। पहिलाकै कार्यक्रम दोहोरिएको हो यसमा नवीनता केही पनि छैन ।’

‘सरकारले विस्तारित गरेको मन्त्रालयहरू घटाएर खर्च कटौती गर्ने कुनै ठोस नीति तथा कार्यक्रम आउँछ कि भन्ने थियो । तर त्यस्तो हुन सकेन’, उनले भने ।

चुनावी घोषणापत्र जस्तो प्रदेशको नीति कार्यक्रम : रीना गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टी वाग्मती प्रदेशसभा संसदीय दलकी नेता रिना गुरुङले बागमती सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम उम्मेदवारहरूले तयार पारेको घोषणा पत्र जस्तै लागेको प्रतिक्रिया दिएकी छिन् । निर्वाचनमा मत माग्न गरिएको भाषण जस्तै नीति तथा कार्यक्रमले विकासका योजनाहरु पूरा नहुने बताइन् ।

उनले कार्यकालको अन्तिममा प्रदेशसभा र मन्त्रालयहरूको आफ्नै भवन बनाउने घोषणा भएको भन्दै जनतालाई हसाउने बाटो बनाएको दावी गरिन् ।

‘नीति तथा कार्यक्रममा केही आयोगहरू कार्यकर्ताहरूलाई भर्ना गर्नकै लागि पनि खुलाउने तयारी गरिएको छ । तर, यसपाली नाराहरू भने कम छ,’ उनले भनिन् ।

  • प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार २०:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया