इटाली र अर्जेन्टिनाबीचको फुटबल आज

दुई महादेशीय फुटबल प्रतियोगिताका विजेता इटाली र अर्जेन्टिना बुधबार एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।

‘फाइनलसिमा’ नामाकरण गरिएको प्रतिस्पर्धामा दुवै टोली उपाधि हात पार्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । इटाली डिफेन्डर जर्जियो चिलिनी तथा अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुनेछन् । 

चिलिनीका लागि यो अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ । किनकि उनले यसअघि नै यो प्रतियोगितापछि सन्न्यास लिने घोषणा गरिसकेका छन् । यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूइएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भइसकेको छ ।

इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै युरो कप–२०२० को उपाधि हात पारेको थियो । यस्तै, ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई १–० ले हराएर उपाधि जितेको थियो ।

फाइनलसिमाको यो तेस्रो संस्करण हो । यसको पहिलो संस्करण फ्रान्स तथा दोस्रो संस्करण अर्जेन्टिनाले जितेका थिए । सन् १९८५ मा फ्रान्सले उरुग्वेलाई २–० तथा सन् १९९३ मा अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेका थिए । 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १३:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया