राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन् । उनले ललिपपजस्तो मानिसहरूलाई भूल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाए ।
बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै लिङ्देलले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दाबी गरे ।
‘बजेटको कुरा गर्दा अहिले मात्रै हामीले वितरणमुखि बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको हो? भनेर टार्ने र जवाफ दिने खालको आउँछ । यो हाम्रो लागि र हामी कसैको लागि पनि सुखद कुरा होइन । यो बजेटको जव हामीले कुरा गर्छौ अहिलेको बजेट इमान्दारीपूर्वक भन्नु पर्छ–कि यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन,’ लिङ्देनले भने, ‘देशमा अहिले जुन प्रकारको आर्थिक संकट देखिँदै गएको छ । जुन प्रकारको मूल्यवृद्धि देखिँदै गएको छ । त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केवल निर्वाचनलक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ । यो बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरू के हुन्? कहीँ पनि स्पष्ट छैन ।’
उनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको समेत बताए ।
‘यो सदाझैं बजेट अनुमान, यति आम्दानी हुन्छ होला । अनि, यति अनुदान पाइन्छ होला, यति ऋण लिइन्छ होला त्यसको आधारमा चाहिँ बनाइएको छ । कति राम्रो कुरा छ कि– एकैघण्टामा चितवन पुग्ने । तर त्यसका आधार के हुन, स्रोत के हुन्? यी सबैबाट के देखिन्छ भने यो बजेट एउटा ललिपपको रूपमा मानिसहरूलाई भुल्याउने गरी मात्रै ल्याइएको छ,’ लिङ्देलले भने, ‘हेटौंडा कपडा उद्योगबाट उत्पादित लुगा चाहिँ सबैले लगाउनुपर्ने कति राम्रो कुरा जस्तो लाग्छ । आम मान्छेले सुन्दा कति राम्रो कुरा ल्यायो यो सरकारले भन्छ । उद्योग कहिले चल्ने हो, कहिले उत्पादन गर्ने हो? उद्योग चलाउने संयन्त्र के हो? थाहा छैन ।’
उनले सरकारले ल्याएको बजेट स्रोतको एकिन नगरी अनुमानको भरमा आएको पनि बताए । लिङ्देलले बजेटमा हेटांैडा कपडा उद्योग सञ्चालन गर्ने संयन्त्रको टुंगो नलगाई त्यसको कपडा प्रयोग गर्ने हावादारी कुरा गरिएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।