वेदुराम भुसालले भने - केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन
फाइल तस्वीर

राष्ट्रियसभा सदस्य डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गरेका छन् ।

बुधबार राष्ट्रियसभामा सरकारले १५ जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सभामा केही सांसदले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उनले नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरु नभएको स्पष्ट पारे । 

उनले मनमोहनको नेतृत्वको बाहेक एमालेका गठबन्धन बिनाका कुनै एकल सरकार नरहेको बताए । उनले सरकारले प्रस्तुत गरेको बजेट गन्तव्य समातेको बजेट भएको बताए । उनले अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको निर्णय भएको बताए ।

‘यहाँ केही साथीहरु भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार । कहिले थियो इतिहासमा ? इतिहासका पाना पल्टाएँ । मैले केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो । २०७२ सालको असोज २२ गते । २०७३ साउन १९ सम्म हुनुभएको थियो । त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो । म सुन्दैछु एमालेको सरकार रे, कसरी दुई वटा पार्टीको सरकार एमालेको हुन्छ ? दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो, र २०७८ असार २१ गतेसम्म रहनुभयो । पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो । यो घाम जत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र ? केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन । एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो’ उनले भने ।

राष्ट्रियसभा सदस्य भुसालले सरकारले बजेटमा ल्याएको प्रत्येक वडामा प्राविधिकहरू खटाउने निर्णय र विद्युतको उपयोग गरेर पेट्रोलियम पदार्थको प्रयोग कटौती गर्छु भन्ने तर विद्युतीय साधनमा महसुल बढाउने निर्णय विरोधाभाष भएको उल्लेख गरे । उनले गत सालको बजेट तत्कालीन सरकारले संसदबाहिर प्रस्तुत गर्दै संवैधानिक प्रणालीमा अवरोध गरेको आरोप लगाए ।





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार १४:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया