राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रका अध्यक्ष राजेन्द्र लिङ्देन भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाएका छन् । राप्रपा नेपालले बुधबार हेटौंडामा आयोजना गरेको वर्तमान चुनौती र विकल्प विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘जो भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, उनीहरू नै भ्रष्टाचारको विरोध गर्दै हिँड्ने गरेका छन्,’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कटाक्ष गर्दै थापाले भने, ‘भ्रष्टाचार गर्नु भनेको आमाको मासु खानुबराबर हो भन्नेहरू नै भ्रष्टाचारको आहालमा डुबेका छन् ।’
देशको अर्थतन्त्र कुनै पनि बेला धरासायी हुन सक्ने थापाले बताए । अध्यक्ष थापाले विदेशबाट आउने रेमिट्यान्स अलिकति मात्रै पनि घटिबढी भएमा देशको अर्थतन्त्र धरासायी हुने बताएका हुन् ।
‘ठूला ठूला बिल्डिङहरू बनिरहेका छन्, तर ती बिल्डिङहरूमा भाडा तिरेर बस्न सक्ने क्षमतामा ह्रास भइरहेको छ,’ उनले भने ‘अहिले लखपति र करोडपति भएकाहरू पनि सडकमा पुग्न सक्ने खतरा छ ।’ अहिले देशमा रहेका ४० लाख भन्दा बढी सिर्जनशील युवाहरू बिदेसिनु ठूलो समस्या रहेको उनी बताउँछन् ।
देशको अर्थतन्त्र रेमिट्यान्समा आधारित हुनुपरेकोमा अवस्था चिन्ताजनक रहेको उनले बताए । उनले धर्म परिवर्तनको डढेलोले नेपालको राष्ट्रिय पहिचान र एकतालालाई अप्ठ्यारो पारेको बताए ।
‘नेपालमा धार्मिक र सांस्कृतिक क्षेत्रमा जसरी आक्रमण भइरहेको छ, त्यसमा म चुप लागेर बस्न सक्दिनँ,’ उनले भने ‘म कुनै धर्मको विरोधी होइन, तर हाम्रो पहिचान संकटमा पर्दै छ, राष्ट्रिय अस्तित्वलाई खतरा छ ।’
सनातन धर्म मानव जीवनको दर्शन र पद्धतिसँग गाँसिएको कुरा भएको बताउँदै थापाले यसप्रति योजनाबद्ध र संगठित रूपले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरे । देशमा भ्रष्टाचारको महारोगबाट सम्पूर्ण समाज ग्रस्त भएको उनी बताउँछन् ।
प्रजातन्त्र आएको ७२ वर्षपछि पनि किन स्थायी राजनीतिक प्रणाली छैन ? भन्दै उनले प्रश्न समेत गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।