इटालीलाई पराजित गर्दै फाइनलिसिमा–२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । गएराति वेम्बली स्टेडियममा भएको खेलमा इटालीलाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो ।
अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डि मारिया र पाउलो डिबालाले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको थपगरिएको समयमा डि मारियाले टोलीको २–० को अग्रता दोब्बर बनाए । दोस्रो हाफको थप गरिएको समयमा डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए ।
योसँगै अर्जेन्टिना ‘फाइनलिसिमा’ दोस्रोपटक विजेता बनेको छ । फाइनलसिमाको यो तेस्रो संस्करण हो । यसको पहिलो संस्करण फ्रान्स तथा दोस्रो संस्करण अर्जेन्टिनाले जितेका थिए ।
सन् १९८५ मा फ्रान्सले उरुग्वेलाई २–० तथा सन् १९९३ मा अर्जेन्टिनाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेका थिए । फाइनलिसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्छ । इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।
यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूइएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।