व्यापार घाटा घटाउने कुरामा बजेटले सही दिशा पक्रेको छ : गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आर्थिक वर्ष २०७९/८० को बजेटले व्यापार घाटा हटाउनका लागि सही दिशा पक्रेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका थापाले बजेटले उपयुक्त प्राथमिकता, गती र दृष्टिकोण समातेको बताए । उनले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गरे ।

‘व्यापार घाटा कम गर्न उत्पादन बढाउनुपर्ने छ, उत्पादकत्व बढाउनुपर्ने छ । त्यसैले आयातबाट उत्पादनतर्फको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति, दृष्टिकोण समातेको छ । उत्पादनमा आधारित अर्थतन्त्र भनेर यसले उद्देश्य पनि स्पष्ट लिएको छ । यसको लागि प्राथमिकतामा कृषि नै रहनुपर्थ्यो । स्रोत विनियोजन पनि ठिक छ । उपयुक्त कार्यक्रमहरू छनौट भएको छ । मूलत : व्यापार घाटा घटाउने कुराको सन्दर्भमा यसले सही दिशा पक्रेको छ,’ थापाले भने ।  

उनले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरूलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने पनि बताए । बजेटले पेट्रोलियम पदार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको पनि बताए । 

‘नीजि क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिन मानेर नीजि क्षेत्रका विभिन्न संघ, संस्थाले दिएको मागहरूको यो पटक यथोचित सम्बोधन भएको छ । चाहे त्यो जग्गाको हदबन्दी सम्बन्धी विषय होला । चाहे लिजमा दिने कुरा होला । चाहे कर्जा प्रवाहको कुरा होला । चाहे वैदेशिक लगानीको कुराहरू होला । नीजि क्षेत्रका संस्थागत मागहरूको सम्बोधन भएको छ,’ थापाले भने, ‘अर्थतन्त्रलाई थप चलायमान बनाउने कुराको अपेक्षा गर्न सकिन्छ । पेट्रोलियम पदार्थको निर्भरता घटाउने कुराको सन्दर्भमा जुन लक्ष्य लिनुपर्ने थियो, यसले त्यसलाई पनि पक्रेको छ । त्यसैले यो सिद्धान्तको हिसाबले पनि ठिक छ । प्राथमिकताको हिसाबले पनि ठिक छ । यो समयले जे माग गरेको छ, त्यसलाई अर्थमन्त्री जीले बुझेर ल्याउनुभएको छ म यसको स्वागत गर्छु ।’ 

उनले बजेटले समयको मागलाई सम्बोधन गरेको बताए । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १२:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया