चौधरीले सांसदकाे सुविधा नपाउने

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहेका कैलालीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई यही पुस १९ गते शपथ गराएको र शपथपछि उनी पुनः थुनामा रहेको जानकारी गराए । 

सभामुख महराले नियमानुसार चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने बारेमा सदनलाई स्पष्ट पारेका छन् । 

बैठकले  ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको बुधबारकोको बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताए ।
 
प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाब दिए । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेस गरेका थिए । 

‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ प्रस्तुत गरेका थिए । 

साथै बैठकले कानुनमन्त्री ढकालले प्रस्तुत गरेको ‘प्रशासकीय अदालत विधेयक, २०७५’ र ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको थियो । 

प्रतिनिधिसभाको आगामी बैठक यही पुस २९ गते दिउँसो १२ बजे बस्नेछ । 
 





  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार १६:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया