सिरहा : औषधि किन्न गएका साहकाे शव इनारमा भेटियाे, हत्या आशंका

सिरहामा हत्या गरी गाउँकै इनारमा फालिएको अवस्थामा एक जनाको शव फेला परेको छ । गोलबजार नगरपालिका-२ टुड्कियाका करिब ५० वर्षीय विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको हो ।

हिजो मंगलबार अपरान्ह श्रीमतीको औषधि लिन घरबाट निस्केका साहको शव गाउँकै इनारभित्र फेला परेको स्थानीय विजय यादवले बताए । औषधि लिएर तुरुन्तै फर्किहाल्छु भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गरिएकाे थियाे । खाेज तलासकै क्रममा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले बताए । 

मृतक साहको टाउकोमा गहिरो चोट लागेका कारण हत्याकाे आशंका गरिएकाे प्रहरी निरीक्षक केसीले बताए । यद्यपि, पूर्ण जानकारी अनुसन्धानपछि मात्रै आउने उनकाे भनाइ छ । 

शवलाई इनारबाहिर निकाली पोष्टमार्टमका लागि धरानस्थितको बिपी कोइराला विज्ञान प्रतिस्ठान घोपा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

मृतकका श्रीमती शिवोदेवी साहले रिसीईबीका कारण हत्या गरेकाे दाबी गरेकी छिन् । उनले गाउँकै केही व्यक्तिले बाटो बनाउने विवादमा मारिदिने धम्की दिएको बताइन । साह एक महिना अघि मात्रै वैदेशिक रोजगारीबाट घर आएका थिए। गाउँकाे बाटाे आरसीसी ढलान गर्ने विषयमा स्थानीयहरूसँग उनको विवाद भएको थियाे । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १६:२४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया