युद्धको जस्तो सोच राखेर काम गर्नुपर्ने बेला आएको छ : गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । 

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै थापाले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरे । 

‘कोभिड र त्यसपश्चात रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तराष्ट्रिय बजारमा जसरी मूल्य अकाशिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरू झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । यसको आधारमा भारतले अब जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रूपमा नलिन आग्रह गर्दछु,’ थापाले भने, ‘म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होईन, यसले यति अस्तव्यस्त बनाउछ– हाम्रो देश समाज सबैतिर । त्यसैले मत सम्माननीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु– युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ । कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन ।’ 

उनले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए । थापाले सरकारले १० वर्षभित्र डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताए ।

‘कच्चा तेल ल्याएर रिफाइन गर्ने विकल्पबारे पनि सोचौं । अर्को कुरा, यो संसद चलिरहेको बेला म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु– पेट्रोलियम ऐन चाहियो हामीलाई । पेट्रोलियम ऐन लिएर आयौ भने हामीलाई यसले बाटो देखाउँछ । मेरो अन्तिम कुरा भनेको नेपाललाई पेट्रोल, डिजेल, एलपी ग्याँस मुक्त देश बनाउन आजैबाट महत्वाकांक्षी योजनाका साथ १० वर्ष भित्रमा निमिट्यान्न पार्ने भनेर लाग्यौं भने बाँच्छौँ हामी,’ थापाले भने । 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १३:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया