कञ्चनपुर– प्रहरीले बुधबार बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीको रगतको नमुना संकलन गर्यो । निर्मलाको शरीरमा पाइएको ‘भजाइनल स्वाब’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमुना संकलनका लागि निवेदन दिएकी थिइन् ।
महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा रगतको नमुना दिएपछि दुर्गादेवीले भनिन्, ‘घटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले आफूखुसी रगत दिएकी हुँ । आवश्यक परीक्षणका लागि आग्रह गर्दछु ।’
प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार दुर्गादेवीको रगतको नमुना परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशाला र नास्टको प्रयोगशालामा पठाइएको छ ।
निर्मलाका बुबा यज्ञराज पन्तले भने परीक्षणका लागि रगत दिन मानेनन् । पति यज्ञराजले रगत दिन अस्वीकार गरेको दुर्गादेवीले नै जानकारी दिइन् ।
किन दिएनन् यज्ञराजले रगतको नमुना ?
पारिवारिक स्रोतका अनुसार यतिखेर यज्ञराज मानसिक रुपमा निकै कमजोर छन् । उनको स्वभाव बालकजस्तै छ । केही समयअघि मानसिक स्वास्थ्यमा समस्या आएपछि काठमाडौं पुगेर उपचार गराई पर्किएका यज्ञराज अहिले पनि मानसिक औषधि सेवन गरिरहेका छन् ।
‘खाना खुवाउन पनि घन्टौँसम्म जोरजबर्जस्ती गर्नुपर्छ,’ फरकधारसँग कुरा गर्दै यज्ञराजकी कान्छी श्रीमती लक्ष्मी पन्तले भनिन्, औषधि र सुइ भनेपछि त परैदेखि डराउनुहुन्छ ।’
लक्ष्मीका अनुसार काठमाडौंमा उपचारका क्रममा यज्ञराजलाई दैनिक १५–२० वटासम्म सुइ दिइन्थ्यो । त्यसैले पनि उनी सुइसँग डराउँछन् ।
लक्ष्मी भन्छिन्, ‘हामीले निकै कर गर्यौँ । तर, उहाँले मान्नुभएन । काठमाडौंमै त्यत्रो रगत दिएको छु, फेरि किन चाहियो रगत ? भनेर जिद्दी गर्नुभयो ।’
यज्ञराजका भतिजा लक्ष्मीप्रसाद पन्त अनुसन्धानमा सघाउन ठूलोबुबालाई जसरी पनि मनाउने बताउँछन् ।
‘हामी ठूलोबुबालाई फकाइरहेका छौँ । उहाँ आत्तिनुभएको छ,’ उनी भन्छन्, ‘तर, जसरी पनि मनाउँछौँ । भोलिसम्म ठूलोबुबाको रगतको नमुना दिलाउँछौँ ।’
बहिनीको हत्याको अनुसन्धानमा सघाउन जे परे पनि गर्ने भन्दै लक्ष्मीप्रसाद थप्छन्, ‘अनुसन्धान छिटो होस्, हामी पूरा सहयोग गर्छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।