नेपाली खाेजकर्ता भानुभक्त गौतमले बनाए विनाइन्धन चल्ने ग्राभिटी इन्जिन

काठमाडौं– नेपाली अनुसन्धानकर्ता भानुभक्त गौतमले गुरुत्वबलको आधारमा सञ्चालन हुने ‘ग्राभिटी इन्जिन’ सञ्चालन गर्न सफल भएको दाबी गरेका छन् । 

लामो समयदेखि ‘इन्धनविना यन्त्र सञ्चालनका लागि शक्ति कसरी उत्पन्न गर्न सकिन्छ’ भन्ने खोजीमा लागेका गौतमले ग्राभिटी इन्जिनको मूल सिद्धान्तका आधारमा भारी ‘पेन्डुलम’लाई निरन्तर हल्लाइराख्न सकिने तथ्य पत्ता लगाएका हुन् । 

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी ग्राभिटी इन्जिनको अनुसन्धानमा प्राप्त सफलता सार्वजनिक गर्दै गौतमले भने, ‘झुन्ड्याइराखिएको पेन्डुलममा फलिङ रक (पृथ्वीमा झर्दै गरेको ढुङ्गा) को सहायताबाट प्राप्त बल दुई गुणा, चार गुणा हुँदै बढ्दै जाने बलको कारण पेन्डुलम निरन्तर चलिरहन्छ ।’ 

गौतमले युएई, कतार र अमेरिकाको भ्रमण तथा ती मुलुकका प्रयोगशाला तथा प्राविधिक तथा मेकानिकल क्षेत्रमा काम गर्ने अनुभव हासिल गरेको बताए । झापाको गौरादहका गौतमले २७ वर्षदेखि इन्धनविना सञ्चालन हुने यन्त्रको विकासमा निरन्तर खोजी गरेको दाबी गरे ।  

विशेषगरी, खेतीपातीमा रहेका बुबाको पानी तान्ने पम्पमा इन्धन सकिएपछि बन्द भएको कारण इन्धनविना कसरी पम्प चलाउन सकिन्छ भन्ने खोजीमा लागेको उनको भनाइ छ । अमेरिकाको विभिन्न सङ्ग्रहालयमा रहेका प्रारम्भका उपकरण तथा यन्त्र हेर्ने अवसर पाएका गौतमले ती यन्त्रबाट प्राप्त अनुभव तथा शिक्षाबाट उक्त उपकरण बनाएको जानकारी दिए । 

उनले तयार पारेको ग्राभिटी इन्जिनमा ६५ केजीको वस्तुलाई डोरीको सहायताबाट सात फिटको उचाइमा झुन्ड्याइएको छ । त्यसलाई निरन्तर हल्लाउन पाँच केजी बल चाहिन्छ । पेन्डुलमलाई एकपटक हल्लाएर छोड्दा ११ पटकसम्म ६ केजी बल प्राप्त हुन्छ । त्यसपछि यो फलिङ रक सिद्धान्तबाट २२ केजी बलमा परिणत हुन्छ र फेरि गुणा भई ४० देखि ४५ केजी बल प्राप्त हुन्छ । यसरी निरन्तर प्राप्त ६ केजी बलले ६५ केजीको भारयुक्त पेन्डुलमलाई निरन्तर हल्लाउँछ । 



गौतमका अनुसार उक्त इन्जिन डाइनामाइटमा प्रयोग गर्न सकिन्छ र विनाइन्धन निरन्तर यन्त्र सञ्चालन गर्न सकिन्छ । यस यन्त्र सञ्चालन गर्न उत्पन्न भएको शक्तिबाट सिर्जना भएको ऊर्जालाई उनले ‘क्लिन इनर्जी‘ नाम दिएका छन् । 



  • प्रकाशित मिति : पुस २५, २०७५ बुधबार २१:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया