\
होटल एशोसिएशन नेपाल (हान)ले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लास्टिकजन्य वस्तुको प्रयोग रोक लगाएको छ ।
हानले यही १८ जेठबाट होटलमा प्लास्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चलन गरेको थियो । जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लास्टिकका कारण प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको हानका उपाध्यक्ष विनायक शाहले बताए ।
उपाध्यक्ष शाहले १८ जेठबाट ‘नो टू प्लास्टिक’ भन्ने नारासहित अभियान सञ्चालन गरेको बताए । उनले २०२४ सम्ममा होटलमा आउनेलाई प्लास्टिकजन्य वस्तु बेगर सेवा दिने काम सफल गर्ने लक्ष्य रहेको बताए ।
‘प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने, भएकोले कोभिडको २ वर्षमा राम्रो व्यापार हुन नसकेकोले के नयाँ गर्ने भनेर यसमा सोचेका थियौँ । हामीले होटलका रुमलाई प्लास्टिक फ्रि गर्ने, होटलका रुमलाई प्लास्टिकजन्य सामानबाट नयाँ विकल्प ल्याउने भन्नेमा हामी अघि बढ्यौँ । हामीले जेठ १८ गतेबाट नो टू प्लाष्टिक भन्ने नारासहित हामीले यो काम सुरु गरेका छौँ,' उनले भने ।
उपाध्यक्ष शाहले प्लास्टिकभन्दा प्राकृतिक कुराहरू केही मात्रामा महँगो भए पनि यसले धेरै फाइदा गर्ने बताए । उनले ग्राहकलाई न्यूनतम हुने गरेर होटलका कोठामा प्राकृतिक कुराहरूको प्रयोगमा जोड दिने बताए ।
उनले प्लास्टिक फ्रि सामानहरू पनि टेस्टेड, क्वालिटी सर्टिफिकेसन भएको हुने बताए । प्लास्टिकजन्य पदार्थको अत्यधिक प्रयोगका कारण पर्यटकीय गन्तव्य तथा हिमाली क्षेत्रहरुमा जलवायु परिवर्तनको असर अत्याधिक बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।