जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा पौडेलको जोड

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले अनुभूति गर्ने खालका विकास योजना अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ‘कार्यक्रम प्राथमिकीकरण अभ्यास कार्यशाला’ शुभारम्भ गर्दै उनले नगरवासीले अनुभूति गर्नेगरी मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रित रही विकासका कार्यक्रम अघि बढाउनुपर्ने बताएका हुन् ।

जनताको माग र आवश्यकताका आधारमा जनप्रतिनिधिले योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै वरिष्ठ नेता पौडेलले जनताको सेवक भएर काम गर्न आग्रह गरे । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकता दिनुपर्ने विषयमा  जानकारी गराउन उक्त कार्यशाला आयोजना गरिएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले योजना तर्जुमा गर्ने आधारबारे जानकारी गराए । 

उनले स्थानीय तहको आवधिक योजनाले निर्दिष्ट गरेका विषय, दिगो विकास लक्ष्यमा तय गरिएका प्राथमिकता, नेपालको संविधान ०७२ को अनुसूची ८ मा व्यवस्था भएका एकल अधिकारका क्षेत्र, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र स्थानीय तहका अधिकारका विषयमा प्रष्ट पारेका थिए ।

नगरपालिकाका वरिष्ठ इञ्जिनियर डा. राजु पौडेलले आव ०७८–७९ का योजनाको प्रगति विवरण सार्वजनिक गरेका थिए । डा. शेषरमण न्यौपानेले वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका चरणहरु र स्थानीय तहका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पारेका थिए । 



कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल लगायत १४ वटै वडाका जनप्रतिनिधिको सहभागिता थियो ।



  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १७:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया