इस्लाम त्यागेर साउदीबाट भागेकी युवतीले पाइन् शरणार्थी मान्यता

एजेन्सी– इस्लाम त्यागेर भाग्दै बैंकक आइपुगेकी साउदी युवतीलाई संयुक्त राष्ट्र संघले शरणार्थीको मान्यता दिएको छ ।

१८ वर्षकी रहफ मोहम्मद अल कुनन आफ्नो परिवारसँगै कुवेतको यात्रामा हुँदा त्यहाँबाट भागेर अष्ट्रेलिया जाँदै थिइन् । तर, उनी बैंकक आएपछि उनलाई रोकियो र अष्ट्रेलिया जान दिइएन ।

ती युवतीले आफू फर्किएर घर गए आफ्नो हत्या हुनसक्ने बताएकी थिइन् । यस्तो हुनुको प्रमुख कारण चाहिँ उनले इस्लाम त्याग्नु भएको उनले बताएकी थिइन् ।

थाइल्यान्डमा रोकिएकी उनलाई थाइ प्रहरीले कुवेत नै फर्काउने तयारी गरेको थियो । तर, उनको सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै थाइ प्रहरीले उनलाई फर्काएन । त्यसपछि उनी थाइ विमानस्थलको एउटा होटलमा कोठा थुनेर बस्न थालिन् । उनले मंगलबारमात्र क्यानडा, अष्ट्रेलियालगायतका देशसँग शरण मागेकी थिइन् । अष्ट्रेलियाले संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिए आफूले यसबारे सोच्ने बताएको थियो । 

अब संयुक्त राष्ट्र संघले यस विषयमा हेर्न अष्ट्रेलियालाई अनुरोध गरेको छ । रहफका आमाबाबु भने उनलाई भेट्न थाइल्यान्ड पुगिसकेका छन् । तर, रहफले उनीहरुलाई पनि भेट्न मानेकी छैनन् । 

साउदी अरबमा इस्लाम त्यागेको घोषणालाई अपराधका रुपमा हेरिन्छ जसको सजाय फाँसी हो ।





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार ०:१८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया