कर्णाली प्रदेश : मकै छर्दा युरिया थिएन, किसानलाई अब धानको चिन्ता
कृषि सामग्री कम्पनी लिमिटेडको सुर्खेतस्थित प्रादेशिक कार्यालय । तस्वीर - पुनम बिसी

सुर्खेतको भेरीगंगा नगरपालिका–६ स्थित सुन्धारा कृषि तथा पशुपालन सहकारी संस्थामा रासायनिक मलको अभाव छ । संस्थामा आवद्ध रहेका पाँच सय दुई जना किसानका लागि हालसम्म प्राप्त रासायनिक मल प्रयाप्त मात्रामा पुगेको छैन । चालु आर्थिक वर्षको हालसम्म संस्थाले ७५ क्विन्टल डिएपी र ५० क्विन्टल युरिया मल पाएको थियो । 

संस्थासँग आवद्ध किसानलाई अझै दोब्बर मात्रामा रासायनिक मलको आवश्यकता पर्छ । संस्थालाई अझै एक सय ७५ क्विन्टल डिएपी र दुई सय ५० क्विन्टल युरिया मलको तत्काल आवश्यकता रहेको संस्थाका अध्यक्ष बलवीर नेपालीले जानकारी दिए ।

उनले भने, ‘समयमा मल नपाएपछि यहाँ किसानहरू चिन्तित हुनुहुन्छ । मकै छर्ने बेला पनि रासायनिक मल पाइएन, अब  वर्षातको समय सुरु हुँदैछ । मानो रोपेर मुरी फलाउने समयमा रासायनिक मल अभाव भएपछि किसानहरूको चिन्ता बढेको हो ।’

यता, जिल्लाकै वीरेन्द्रनगर–१० स्थित मनिकापुर कृषि सहकारी संस्थाको कार्यालयमा समेत दैनिकजसो १०–१२ जना किसान सोधपुछका लागि आउँछन् । उनीहरूको एउटै प्रश्न हुन्छ, ‘मल कहिले आउछ ?’

वर्षातको समय सुरु हुँदैछ, सुर्खेतलगायत कर्णालीका किसानलाई रासायनिक मलको अभाव चिन्ताले सताउन थालेको छ । बजारमा मलको अभाव छ, सरकारले कृषि सहकारी संस्थाबाट रासायनिक मल वितरण गर्ने व्यवस्था मिलाएको छ । तर, रासायनिक मलको अभाव भएपछि किसानहरू कृषि सहकारी संस्थाका कार्यालयमा धाइरहेका छन् ।

संस्थाका सचिव गणेशकुमार थापाले भने, ‘यसपालि यहाँका किसानले कर्मका लागि युरिया मलसमेत पाएनन् । दैनिक १०–१२ जना किसान धान खेतीका लागि रासायनिक मल खोज्दै सहकारीको कार्यालयमा आइपुग्नुहुन्छ । तर, के गर्नु, सहकारीले पनि रासायनिक मल खरिद गरी ल्याउन सकेको छैन ।’



कृषि सहकारी संस्थालाई रासायनिक मलका लागि कृषि सामग्री कम्पनी लिमिटेडमार्फत खरिद गर्ने व्यवस्था छ । तर, कम्पनीले माग भएअनुसार मलको व्यवस्था गर्न नसकेपछि किसानहरू मर्कामा परेका छन् ।

चालु आर्थिक वर्षको हालसम्म मनिकापुर कृषि सहकारी संस्थामा ३५ क्विन्टल डिएपी र ६ क्विन्टल युरिया मल पुगेका थियो । दुई सय २३ जना किसान आवद्ध उक्त संस्थाका लागि प्राप्त रासायनिक मलको यो परिमाण भने प्रयाप्त रहेन । संस्थाका सचिव थापाले भने, ‘धानका लागि भनेर हामीले एक सय क्विन्टल डिएपी माग गरेका छौँ । माग अनुसारको आउला भन्ने आस छैन । युरिया त झन् कर्णालीमा आएकै छैन रे ।’



कर्णाली प्रदेशका किसानका लागि वार्षिक रूपमा करिव चार हजार मेट्रिक टन मल आवश्यक पर्छ । तर, प्रदेशमा प्रत्येक आर्थिक वर्ष करिव एक हजार पाँच सय मेट्रिक टन हाराहारीमा मल भित्रिरहेको छ । 

प्रदेशको कृषि सामग्री कम्पनी लिमिटेड कार्यालयका सूचना अधिकारी सुन्दर केसीले भने, ‘माग धेरै छ, सरकारले मल उपलब्ध गराउन सकेको छैन ।’

चालु आर्थिक वर्षमा कर्णालीमा एक हजार पाँच सय ४८ मेट्रिकटन रासायनिक मल भित्रिएको थियो । आर्थिक वर्ष सकिन नपाउँदै उक्त परिमाणबाट धेरै मल प्रयोग भइसकेको छ । कम्पनीसँग रासायनिक मलको मौजाद निकै कम छ । आर्थिक वर्ष सकिन नपाउँदै, धान उत्पादनका लागि आवश्यक समयमा किसानहरू मलको अभाव भोगिरहेका छन् ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीका लागि एक हजार ६० मेट्रिक टन युरिया मल भित्रियो । तर ०७८ असोजताका नै युरिया सबै सकिइसकेको थियो । चार सय १४ टन डिएपी र ७३ टन पोटास मल प्रदेशमा भित्रिएको थियो । कृषि सामग्री कम्पनीसँग हाल गोदाममा ७२ टन डिएपी र दुई टन पोटास मात्र मौजाद छ ।

केसीले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भइरहेको अवस्था छ । कोभिडका कारण पनि अन्तर्राष्ट्रिय बजारमा मलको आपूर्तिमा कमी आएको छ । त्यसैले पनि नेपालमा रासायनिक मलको चरम अभाव देखिएको हो ।’

केसीले दिएको जानकारीअनुसार नेपालभर कुल सात लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता छ । तर, नेपालमा करिव १.५–दुई लाख मेट्रिकटन मात्र आयात भइरहेको छ ।

कर्णाली प्रदेशभर रहेका कुल एक सय आठवटा कृषि सहकारी संस्थाले कृषि सामग्रीमार्फत रासायनिक मल खरिद गरी किसानलाई बिक्री–वितरण गरिरहेका छन् ।

  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १९:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया