गृहमन्त्री बालकृष्ण खाँणले रूपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलबाट खस्दा बस दुर्घटना हुँदा घाइते भएकाहरूको उपचार गर्न निर्देशन दिएका छन् ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पताल पुर्याएर उपचारको व्यवस्था गर्न गृहमन्त्री खाँणले निर्देशन दिएका हुन् ।
घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको छिटो उपचारको व्यवस्था गर्न गृहमन्त्रीको आग्रह छ ।
रूपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार आज बिहान करिब ४ः४५ बजे बस दुर्घटना भएको हो । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नं. बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार मृत्यु हुनेमा एक महिला र आठ पुरुष छन् । मृतकमध्ये रूपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रूपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको सनाखत भएको छ ।
बाँकीको ४ जनाको सनाखत हुन बाँकी छ । बसमा सवार अन्य ३३ जना घाइते छन् । बसका चालक निदाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।