अवैधानिक ताक्लाकोट नाका : बर्सेनि गुम्छ करोडौं राजस्व, ६ महिना मात्र हुन्छ निगरानी

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाकाबाट बर्सेनि करोडौं राजस्व चुहावट भइरहेको छ । वैधानिक नाका अभावमा नहुँदा ताक्लाकोबाट हरेक वर्ष करोडौं पैयाँ राजस्व गुम्ने गरेको हो । 

सदरमुकाम चैनपुरबाट ८५ किलोमिटरको दूरीमा रहेको ताक्लाकोट चीन–भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो नाका हो । यही नाकाबाट बर्सेनि ठूलो संख्यामा अवैध तरिकाले बहुमूल्य जडिबुटी निकासी हुने गरेको छ । ताक्लाकोट बझाङको साइपाल गाउँपालिकासँग जोडिएको छ ।

साइपाल जडीबुटी र यार्सागुम्बाका लागि प्रसिद्ध छ । यहाँ उत्पादन हुने बहुमूल्य जडिबुटी प्रत्येक वर्ष ताक्लाकोट नाका भएर चीनको तिब्बतमा निकासी हुने गरेको छ । यो नाकाबाट वर्षमा ३ करोडभन्दा बढीको यार्सागुम्बालगायत जडिबुटी निकासी हुने गरेको यहाँका व्यवसायी बताउँछन् ।  


 
ताक्लाकोट नाकामा नेपालले अहिलेसम्म सुरक्षाकर्मी राख्न सकेको छैन । साइपाल गाउँपालिकाको धुलीमा नेपाल प्रहरीको चौकी भएपनि त्यसबाहेक नाकामा सुरक्षा निकायको कुनै उपस्थिति नरहेको हो । विकट र हिमाल भएका कारण यस नाकाबाट राजश्व छलेर यहाँका व्यवसायीले करोडौंको कारोबार गर्ने गरेका साइपाल गाउँपालिकाका निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।  

वर्षभरि सुरक्षाकर्मीको निगरानी नहुँदा पनि नाकाबाट ठूलो संख्यामा अवैधरूपमा जडिबुटी चीनतर्फ निकासी भइरहेको उनको भनाइ छ । सीमामा अपराध र अवैध गतिविधि रोक्नका लागि खटिने सशस्त्र प्रहरीहरू अहिले जिल्ला सदरमुकाममा सरेका छन् ।

ताक्लाकोट नाका क्षेत्रमा वर्षमा सात महिना हिउँ जम्ने र यातायातको समेत सुविधा नभएका कारण सुरक्षा टोलीलाई पठाउन नसकिएको बझाङ प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए । ‘वर्षमा ६ महिनाभन्दा बढी समय त्यहाँ हिमपात हुन्छ । स्वास्थ्य र खाद्यान्नको असुरक्षाको दृष्टिकोणले पनि हालसम्म साइपाल जोड्ने ताक्लाकोट नाकामा सुरक्षा टिमलाई परिचालन गर्न सकिएको छैन । तर त्यसबारे मैले गृह मन्त्रालयलगायतमा समन्वय गरिरहेको छु,’ प्रजिअ अर्यालले भने ।



सरकारी बेवास्थाका अहिलेसम्म ताक्लाकोट नाकाले वैधानिकता पाउन नसकेको यहाँका जनप्रतिनिधि बताउँछन् । ‘सीमामा भन्सार कार्यालय स्थापनाको लागि तल्कालिन समयमा काँडा गाउँ विकास समिति तथा जिल्ला विकास समितिले पटकपटक पहल गर्यो । तर, सरकारी बेवास्ताका कारण हालसम्म ताक्लाकोट नाकाले वैधानिकता पाउन सकेन,’ साइपाल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मानवीर बोहराले भने, ‘हामीले पटकपटक सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ताक्लाकोट नाकालाई वैधानिकता दिनका लागि आग्रह गरेको भए पनि सरकारले कुनै चासो दिएन । सीमामा हुने तस्करीलाई समेत रोक्नका लागि सरकार उदासिन छ ।’ 

साइपाल गाउँपालिकमा रहेको हिमालबाट बहुमूल्य जडिबुटी मात्र नभएर लोपउन्मुख वन्यजन्तुहरूको सिकार गरी तिब्बत क्षेत्रमा तस्करीसमेत हुने गरेको स्थानीय रामबहादुर बोहराले बताए । स्थानीयका अनुसार यहाँबाट मृग, घोरल, कस्तूरी, डाँफे, हिम चितुवालगायतका संकटमा रहेका वन्यजन्तुको सिकार गरी तिब्बत क्षेत्रमा तस्करी हुने गरेको हो ।



बझाङबाट यार्सागुम्बा, वन लसुन, कटुकी, सतुवा, पाँचऔंलेलगायत जडिबुटी ठूलो परिमाणमा ताक्लोकोटबाट चीनको तिब्बतमा निकासी हुने गरेको छ । साथै, निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानी पनि तिब्बतमा नै निकासी हुने गरेको छ ।  

राजस्व छलेर मदिरा आयात

साइपाल गाउँपालिकामा चीनबाट राजश्व छलेर मदिरा आयात हुने गरेको पनि पाइएको छ । साइपालको अधिकांश गाउँमा चिनियाँ कम्पनीका मदिरा भेटिने गरेका स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम चैनपुरदेखि टाढा रहेको यो पालिकामा अझै पनि यातायातको सुविधा पुग्न सकेको छैन ।

जसकारण यहाँ साइपालमा तिब्बती मदिरा  (थोपे) पाइन्छ । मदिराबाहेक नुन, कपडा, जुत्ता पनि  राजस्व छलेर ताक्लाकोटबाट आयात हुने गरेको छ । ‘कुन सामान कति मात्रामा आयात हुन्छ भन्ने यकिन तथ्याङ्क त छैन । तर, आयातको प्रकृति हेर्ने हो भने वर्षमा एक करोडको रक्सी मात्र आउँछ होला,’ साइपाल गाउँपालिकाका पञ्जीकरण शाखाका प्रमुख जनक द्वालले भने, ‘सोही मात्रामा लत्ताकपडा र दैनिक उपभोग्य सामानहरू यो नाका भएर भित्रिने गरेको छ । कोभिड–१९ का कारण २ वर्ष आयात सामान्य बन्द भएपनि फेरि नाकाबाट राजस्व छलेर आयात र निर्यात बढेको छ ।’

प्रहरीको सीमा सुरक्षा चौकी नेपाल–चीनको सिमानाभन्दा २५ किलोमिटर यतै पर्छ । सीमा प्रहरी चौकी छल्दै नाकासम्म पुग्ने प्रशस्त बाटो भएका कारण नाकामा हुने गतिविधि रोक्न समस्या भएको देखिन्छ । हाल ताक्लाकोट जाने सडक निर्माणाधीन अवस्थामा छ । अहिलेसम्म सदरमुकाम चैनपुरबाट ३८ किलोमिटर सडक खन्ने काम सकिएको छ । बाँकी ७९ किलोमिटर निमार्णको काम अझै बाँकी छ । २०६३ सालमा सडक निमार्ण सुरु भएपनि हालसम्म ट्रयाकसम्म खुलाउन सकिएको छैन । 

तत्कालिन बझाङका राजा जयपृथ्वीबहादुर सिंहले स्थानीयको श्रमदानबाट चैनपुरदेखि ताक्लाकोटसम्म मान्छे हिँड्ने बाटो निमार्ण गराएका थिए । त्यो समयपछि बझाङ  र तिब्बतको प्रमुख व्यापारिक केन्द्र ताक्लाकोटबीच व्यापारिक सम्बन्ध स्थापना भएको बताइन्छ । पवित्र तीर्थस्थल मानसरोवर–कैलाश पुग्नका लागि साइपाल–ताक्लाकोट नाका सबैभन्दा छोटो र सजिलो बाटो मानिन्छ ।    

  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार १२:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया