जनकपुरधाम उपमहानगरका सडकपेटीमा रोपिएका विरुवा चोरिए

जनकपुरधाम उपमहानगरपालिकामा सौन्दर्यीकरण र हरियालीका लागि सडकपेटीमा लगाइएका फूलका विरुवा चोरी हुन थालेका छन् । फूलका विरुवाका साथै फूलको संरक्षणका लागि लगाइएका ट्रिगार्डसमेत ठाउँठाउँबाट चोरी भइरहेको पाइएको छ । 

आइतबार बिहान करिव ४ः३० बजेको समयमा नगरको शुक्रबारी बजारस्थित नेपाल राष्ट्र बैंकको अगाडिबाट हातमा सेतो झोला लिएर आएका एक चोरले फूलका विरुवा ट्रिगार्डबाट उखेलेर लगेको दृष्य सिसिटिभी क्यामेरामा कैद भएको छ । 

यसअघि पनि फूलका विरुवा र ट्रिगार्ड चोरी भएको स्थानीय व्यापारी शंकर महासेठले बताए । सौन्दर्यीकरणका लागि आफूले निजी लगानीमा आफ्नो पसलको अगाडि रहेको ट्रिगार्डमा रोपेको फूल चोरी भएको उनको दुःखेसो छ । 

ट्रिगार्ड चोरी गर्ने र जथाभावी फूल टिप्ने व्यक्तिको पहिचान गरी कारबाहीका लागि उनले माग गरेका छन् । 

उनले भने, ‘नगरको सौन्दर्यीकरण सम्पूर्ण नगरबासीको पनि चाहना हो । तर, यसरी बीच बाटोबाटै फूलका विरुवा चोरी हुँदासमेत सम्बन्धित निकायले ध्यान नदिनु दुःखद हो ।’ 

यस सम्बन्धमा नगर प्रमुख मनोजकुमार साहले सडकको बीच भागमा रोपिएका फूल तथा ट्रिगार्ड चोरी गर्ने व्यक्तिको बारेमा कुनै पनि सूचना उपलब्ध भएमा उपमहानगरपालिका तथा सुरक्षा निकायमा खबर गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।  



उपमहानगरपालिकाले आगामी दिनमा नगरलाई सौन्दर्यीकरण गर्ने काम प्राथमिकतामा राखेको भन्दै नगर प्रमुख साहले आम नगरबासीबाट साथ र सहयोगको अपेक्षा गरिएको बताए ।



  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १८:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया