सुदूरपश्चिम प्रदेश : नीति तथा कार्यक्रममाथि छलफल सुरु, कार्यक्रम कार्यान्वयनमा आशंका

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सोमबारबाट छलफल सुरु भएको हो ।

छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले नीति तथा कार्यक्रम महत्वाकांक्षी र सकारात्मक रहेको बताए । 

उनले नीति तथा कार्यक्रममा राम्रा शब्दहरू प्रयोग गरेको भन्दै ती शब्दअनुसारका काम हुनुपर्नेमा पनि जोड दिए । उनले भने, ‘म किसान हुनमा गर्व गर्छु भन्ने उल्लेख छ, तर अहिले पनि किसानले समयमा मल, बिउ पाएका छैनन् । यो शब्दअनुसारको काम होस् ।’

उनले लगानी सम्मेलन गर्नु उपयुक्त भए पनि सम्मेलनबाट आएका सुझाबको कार्यान्वयन पनि जरुरी रहेको बताए । ‘आर्थिक वर्ष ०७६–७७ मा पनि लगानी सम्मेलन गरिएको थियो,’ उनले भने, ‘त्यहाँबाट आएका सुझाब कत्तिको कार्यान्वयन र पालना भयो ?’ 

उनले भूमिहीन, सुकुमवासीको व्यवस्थापन भाषणमै सीमित हुने गरेको बताए । निश्चित मापदण्ड बनाई समयमै व्यवस्थापन गर्ने गरी सरकारले ठोस योजना ल्याउनुपर्नेमा उनले जोड दिए । राज्यको मूलधारमा आउन नसकेको आदिवासी, जनजाति, दलित, पिछडिएका वर्गलाई पनि मूलधारमा ल्याउने कार्यक्रम ल्याउन उनले सुझाब दिए ।

एकीकृत समाजवादी पार्टीकी प्रदेश सभा सदस्य सुशीला बुढाथोकीले नीति तथा कार्यक्रम हेर्दा राम्रो र सबै क्षेत्र समेटेर ल्याइएको बताइन् । 



‘एकल महिला, किसान, गरिब, स्वरोजगार, कृषि कर्जा प्रदान गरिनेलगायत सबै क्षेत्र समेटेको छ,’ उनले भनिन्, ‘नीति राम्रो छ । राम्रो पनि हुनुपर्छ, तर यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइनुपर्छ ।’

उनले प्रदेशमा एउटा ठूलो उद्योग स्थापना गर्ने परिकल्पना गर्नुपर्ने बताइन् । उनले अहिले पनि प्रदेशका दुर्गम क्षेत्रमा पुरुष रोजगारका लागि विदेश जाने र महिलाहरु घरमा बस्ने गरेको अवस्था सुनाइन् । बाँझो रहेका खेतहरु ठेक्कामा लगाउने नीति प्रदेश सरकारले लिएमा प्रदेशमा बाँझो रहेका खेतको सदुपयोग हुने उनको भनाइ छ ।



एकीकृत समाजवादी पार्टीका तारा लामा तामाङले नीति तथा कार्यक्रम परिपक्व र प्रदेशका लागि केही नयाँ कुरा दिन सक्ने गरी प्रस्तुत भएको बताए । ‘धेरै क्षेत्र समेट्न खोजेको छ । व्यापक छलफलबाट आएका सुझाब समेटेको छ,’ उनले भने, ‘कार्यक्रमअनुसारको बजेट आयो भने थप राम्रो बन्नेछ ।’ 

उनले सीमा क्षेत्रमा बसेका नागरिकका लागि पनि कार्यक्रममा ल्याउनुपर्ने बताए । उनले राना थारुलाई समेटेर लालझाँडीलाई राना सांस्कृतिक पर्यटकीय गाउँभन्दा पनि राना थारु सांस्कृतिक पर्यटकीय गाउँ नामाकरण गर्नुपर्ने सुझाब दिए । उनले प्रदेश सरकारले कृषिमा सामूहिक खेतीलाई पनि जोड दिनुपर्ने बताए ।

  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार २०:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया