अमेरिकामा ह्यारी भण्डारीकाे शपथ

वासिंगटन डिसी- अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्यान्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् ।  उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन् । 

मेरिल्यान्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका थिए । शपथपछि भण्डारीले भने, ‘मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको अवसरका लागि म आभारी छु । म एउटा वयष्क उमेरमा अमेरिका आएर यो उपलब्धि हासिल गर्न सफल भएको छु, यही भूमिमा जन्मिएका नेपाली मूलका अमेरिकीले अझ फराकिलो इतिहास निर्माण गर्नसक्छन् भन्नेमा म पूर्ण विश्वस्त छु ।’ 

भण्डारीको शपथग्रहण कार्यक्रममा पुगेका करिब दुई दर्जन नेपालीले उनको सफलताले आफूहरूलाई पनि उत्साहित बनाएको प्रतिक्रिया दिए । कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) संघ, अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले ह्यारीको सफलता एकजना एनआरएनकै सफलता रहेकाे बताए ।

अमेरिकामा करिब तीन लाख नेपाली र अन्य तीन लाख नेपालीभाषी गरी करिब ६ लाख नेपाली बस्दै आएका छन् । यसरी निर्वाचित भएर राजनीतिक तहको जिम्मेवारी लिने भण्डारी पहिलो नेपाली मूलका अमेरिकी नागरिक बनेका छन् । यसलाई अमेरिकाका स्थानीय राजनीतिज्ञहरूले समेत चासोका साथ हेरेका छन् । 

यसैबीच भण्डारीले आफूले ‘हेल्थ तथा गभर्नमेन्ट रिलेसन कमिटी’को हैसियतले मेरिल्यान्डका बासिन्दाका लागि राम्रो र सर्वसुलभ स्वास्थ्यका लागि पहल गर्ने प्रतिक्रिया दिए । भण्डारीले आफ्नो सचिवालय रहने स्थानमा नेपाल र अमेरिकाको झन्डासमेत राखेका छन् । भण्डारीको कार्यकक्षमा सगरमाथाको तस्बिर र नेपालको झन्डा सजाएर राखिएको छ । 

भण्डारी गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा २२ हजार ४ सय ७ मत ल्याएर मेरिल्यान्डको हाउस अफ डेलिगेटमा विजयी भएका थिए । उनले जितेको पदमा बहाल रहेका सांसदहरूले मेरिल्यान्ड राज्यका लागि आवश्यक पर्ने विभिन्न कानुन निर्माण गर्ने र राज्यको बजेट प्रक्रियालाई अनुमोदन गर्ने गर्दछन् । 

उनीहरूले राज्यभित्र रोजगारीको अवसर सिर्जना गर्ने, उद्योग तथा कलकारखाना स्थापनाका लागि आवश्यक पर्ने कानुन बनाउने, काउन्टीहरूलाई विभिन्न तरिकाले बजेट सहयोग गर्ने, विद्यालयको गुणस्तर तथा पूर्वाधारको निर्माणमा सहयोग गर्न सक्नेछन् ।





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १२:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया