कंगाेको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

किन्सासा- प्रजातान्त्रिक गणतन्त्र कंगाेका विपक्षी नेता फेलिक्स सिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन् । गृहयुद्धबाट तहसनहस भएको कंगाेमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । 

राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाइले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए । निर्वाचित भएलगत्तै राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतीज्ञा गरे । 

उनले हिंसाहत्याको शृङ्खलाबीच मुलुकको नेतृत्व गरेका राष्ट्रपति जोसेफ काबिलालाई ‘लोकतान्त्रिक परिवर्तनका साझेदार’ का रूपमा हेर्न आमजनतासमक्ष आग्रह गरे । 

निर्वाचनमा पराजित भएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरेका थिए । यसपटकको चुनावमा विगत १८ वर्षदेखि राष्ट्रको नेतृत्व गरेका राष्ट्रपति काबिला उम्मेदवार बनेका थिएनन् । 

‘चुनावको नतिजा बिल्कुलै भरोसायोग्य छैन,’ फायुलुले रेडियो फ्रान्स इन्टरनेसनलसँग भने । खनिज पदार्थबाट विश्वकै धनी राष्ट्र कंगाेमा काबिलाको सत्तारोहणपछिका दुई वर्षसम्म ठूलो संकट देखिएको थियो । 

हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कंगाेमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन । ‘कुल खसेको मतको करिब ३९ प्रतिशत मत पाएसँगै फेलिक्स सिसेकेडी कंगाेको राष्ट्रपतिमा चयन हुनुभएको छ,’ स्वतन्त्र राष्ट्रिय चुनाव आयोगका प्रमुख कोर्नेल नान्गाले भने । 

बिहीबार बिहान चुनावको प्रारम्भिक नतिजा सार्वजनिक हुनासाथ सर्वत्र खुसियाली व्यक्त गर्न थालिएको छ । ‘म राष्ट्रपति जोसेफ काबिलाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । आजदेखि हामीले उहाँलाई कहिल्यै बैरीका रूपमा हेर्नेछैनौं । उनलाई हामी मुलुकको लोकतान्त्रिक परिर्वतनमा साझेदार ठान्नेछौं,’ सिसेकेडीले युडिपिएस पार्टीको मुख्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने ।

राष्ट्रपति जोसेफ काबिलाको पनि समर्थन रहेका इम्मानुएल रामाजानी साडारीले तेस्रो स्थान प्राप्त गरेका थिए । उनले करिब २४ प्रतिशत मत प्राप्त गरेका थिए । 
चुनाव आयोगका अनुसार अन्तिम नतिजा जनवरी १५ मा घोषणा गरिनेछ । त्यसको तीन दिनपछि नवनिर्वाचित राष्ट्रपतिलाई शपथ गराइनेछ । 

मतगणनामा निकै ढिलाइ भएपछि अनेक आशंका व्यक्त गरिएका थिए । चुनावी नतिजालाई लिएर हिंसा भड्किने आशंकामा राजधानी किन्सासाका सडकमा प्रहरीको बाक्लो उपस्थिति थियो । 

नवनिर्वाचित राष्ट्रपति सिसेकेडी हाल ५५ वर्षका छन् । उनी कंगाेको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस) का प्रमुख हुन् । यो दल उनकै बुबा इटिनले स्थापना गरेका हुन् । इटिन कंगाेका महत्त्वपूर्ण राजनीतिक व्यक्तित्व हुन् । 

चुनावी प्रचार अभियानका क्रममा सिसेकेडीले कंगाेमा कानुनी शासन पुनःस्थापित गर्ने, भ्रष्टाचारविरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने प्रतीज्ञा गरेका छन् । तर, आलोचकहरूले उनमा राजनीतिक र व्यवस्थापकीय अनुभवको कमी रहेको बताउँदै आएका छन् । 

हालका राष्ट्रपति जोसेफ काबिलाले दुई वर्षअघि नै राजीनामा गर्नुपर्ने थियो, तर त्यसो गरेनन् । काबिलाका विरुद्धमा देशव्यापी प्रदर्शन भएका थिए । काबिला सरकारको दमनका कारण सयौंको अकालमा ज्यान गएको थियो । 

सन् २००६ र २०११ मा भएका चुनावमा रक्तपातपूर्ण हिंसात्मक घटना भएका थिए । सन् १९९६ र २००३ को बीचमा भएका दुईवटा युद्धका कारण यहाँ विदेशी सैनिक ल्याउनुपरेको थियो जसका कारण लाखौंको ज्यान गएको थियो ।





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार १४:२९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया