२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

इम्बोस्ड नम्बर प्लेट विवादबारे के भन्छन् यातायात विभागका महानिर्देशक घिमिरे ? [भिडियो]

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको स्पष्ट पारेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । 


पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिका अनुसार सूचना प्रकाशित गरेको बताए । उनले २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नवीकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएअनुसार जडान भए नभएको अनुगमन गर्ने सूचना आएको दाबी गरे । 



महानिर्देशक घिमिरेले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गते भित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको उल्लेख गरे । 

उनले विभागले यसअघि २०७८ साल कात्तिक २२ गते राजपत्रमा प्रकाशित सूचनामा तत्कालिन अवस्थामा नाम तोकिएका पाँच वटा प्रदेशमा २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्रयोग गर्ने भनिएअनुसार विभाग अघि बढेको बताए । 



इम्बोस्ड नम्बर प्लेट नियमित कार्यतालिका अनुसार जसको लागि अनिवार्य गरिएको थियो उनीहरुले जडान गरेको छ वा छैन भन्ने कुरा विभागले अनुगमन गर्ने भनिएको भन्दै महानिर्देशक घिमिरेले साउन १ गते भित्रमा सबै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्ने भन्ने सूचना गलत भएको बताए । 

त्यस्तै, उनले इम्बोस्ड नम्बर प्लेट जडानको लागि विभागले सम्पूर्ण पूर्वाधार तयारी पारेको जिकिर गरे । महानिर्देशक घिमिरेले मुख्य पूर्वाधार भनेको नम्बर प्लेट उत्पादन, उत्पादनको काम र जडान गर्न यातायात व्यवस्था कार्यालय वा जनशक्तिसमेत व्यवस्था गरिएको जानकारी दिए ।

महानिर्देशक घिमिरेले गण्डकी प्रदेश र वागमती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा गण्डकी र वागमती प्रदेशलाई मुख्य फोकस गरिएको बताए । 

उनले गण्डकी र वागमती प्रदेशमा चार पाङ्ग्रे वा सो भन्दा ठूला सवारी साधन र गुर्जुधारामा दुई पाङ्ग्रे सवारीसाधनको लागि जडान तयारी पूरा भएको बताए । 



गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको घिमिरेको भनाइ छ । उनका अनुसार अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, वागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यकताअनुसार विभागले पूर्वाधार तयार गरिरहेको छ । 

महानिर्देशक घिमिरेले गण्डकी र वागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना गलत रहेको दाबी गरे ।

भिडियो

  • प्रकाशित मिति : २४ जेठ, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया