काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निगममा प्वालै प्वाल भएको बताएका छन् ।
नेपाल आयल निगमको ४९औं वार्षिकोत्सवमा बोल्दै मन्त्री यादवले निगममा धेरै समस्या रहेकाले त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए । ‘निगममा निकै धेरै प्वाल छन्, ‘यहाँ काम गर्ने कर्मचारी, डिपो सञ्चालक, ढुवानी व्यवसायी, मन्त्रालयका सचिव र मन्त्रीसम्मले त्यो प्वालमा आफ्नो भाँडो थाप्ने चलन छ ।’
मन्त्री यादवले यस्तो समस्या समाधान गर्ने जिम्मेवारी आफ्नो काँधमा आएकाले त्यसलाई समाधान गर्ने सबैको सहयोग मिलेको पनि बताए । उनले भने, ‘चोरको दिमाग झन् तगडा हुने रहेछ, त्यसैले प्वाल टाल्न निकै गाह्रो भइरहेको छ ।’ पछिल्लो समय भने सबैको सहयोगले गर्दा प्वाल टाल्न थालिएको र केही सफलता मिलेको पनि उनले बताए ।
दसैंको समयमा सर्वसाधारणलाई सहुलियत दिँदा निगमको घाटा बढेको बताउँदै मन्त्री यादवले त्यसपछि भने बिस्तारै घाटा घटाउँदै लगेको बताए । उनले भने, ‘दसैंको बेलामा मात्र निगमको घाटा ४ अर्ब भएको थियो, त्यसपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि हामी थोरै मात्रै घटाएर घाटा समायोजन गरिरहेका छांै ।’ निगमले नाफा कमाउने थालेपछि भने अझै धेरै मूल्य घटाउने उनले बताए ।
मन्त्री यादवले निजी क्षेत्रले पनि आपूर्तिमा सहयोग नगरेको आरोप लगाए । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा यहाँ घटेन भनेर चर्काे आवाज उठ्ने बताउँदै उनले भने, ‘पछिल्लो समय इन्धनको मूल्य ६ रुपैयाँ घटेको छ, तर कुनै पनि सवारीसाधनको भाडा घटेको खबर आएको छैन ।’ उनले यस्ता विषयमा निजी क्षेत्रले पनि विचार गर्नुपर्ने बताए ।
मन्त्री यादवले निगमलाई व्यवस्थित गर्नुपर्ने बताउँदै डिपो प्रमुख हुन तँछाडमछाड गर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । सबैले आफ्नो जिम्मेवारी ठीक ढंगले गर्नुपर्ने बताउँदै मन्त्री यादवले वार्षिक उत्सवको अवसरमा सबैलाई सुध्रन शुभकामना दिए । उनले निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई नयाँ कार्यकालको शुभकामनासमेत दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।