वीरगन्ज– सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन ।
संघीय सरकारले स्वास्थ्यचौकीलाई ३९ प्रकारका औषधि दिने गरे पनि अधिकांश स्वास्थ्यचौकीमा सिटामोलबाहेक अन्य औषधिबाट स्थानीय जनता वञ्चित हुँदै आएका छन् । सरकारले स्वास्थ्यचौकीमा सबै प्रकारको औषधि पठाए पनि सेवाग्रहीले सिटामोलबाहेक अन्य औषधि पाएका छैनन् । सरकारले दिने अन्य औषधि आखिर कहाँ जान्छ त, जिराभवानी गाउँपालिका–३, नेकपाका नेता भोला महतो थारु भन्छन्, राम्रो तथा महँगो औषधि कर्मचारीले नै बाहिरको औषधि पसलमा बेच्ने गर्छन् ।’
स्वास्थ्यचौकीमा सञ्चालक समिति नभएकाले कर्मचारीले मनपरी अन्य औषधि नजिकको औषधि पसलमा बेच्ने गरेको बताइन्छ । कर्मचारीतन्त्रकै कारण निर्मलबस्तीका स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् ।
पर्सा जिल्लामा ८२ वटा स्वास्थ्यचौकी छन् । सामान्य उपचार मात्र हुने स्वास्थ्य चौकीमा गम्भीर प्रकृतिका बिरामी आए उपचारका लागि सहर पठाउनुपर्ने बाध्यता छ । पकहामैनपुरमा रहेका सबै स्वास्थ्य चौकीका अहेब अनिलकुमार यादव भन्छन्, ‘गाउँपालिकाले अन्य औषधिभन्दा सिटामोल बढी दिने गरेकोले यस्तो स्थिति आएको हो ।’
उनका अनुसार विगतमा जिल्ला जनस्वास्थ्य कार्यालय मातहतमा हुँदा सबै औषधि उपलब्ध हुने गर्थ्यो, तर स्थानीय निकायमा गाभिएपछि सिटामोल, ब्रुफेनजस्ता औषधि बढी आउने गर्छन् ।
सरकारले क्षयरोगको बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराए पनि पर्सागढी नगरपालिका–६ चैनपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले उक्त रोगको औषधि नभएको भनी फर्काउने गरेको स्थानीयवासीको गुनासो छ । तर, वडाध्यक्ष किशोरी राउत अहिरले गुनासोलाई मिथ्या भन्दै क्षयरोगलगायत सबै रोगका औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क पाउने गरेको दाबी गरे ।
अहिले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरूमा अति आवश्यक पर्ने केडिनालिन, चारकोल जस्ता औषधि डेढ वर्षदेखि छैन, तर सिटामोल, ब्रुफेनजस्ता औषधि व्यापक मात्रामा रहेको स्वास्थ्यचौकी पकहामैनपुरका हेल्थ असिस्टेन्ट विष्णु महतराको भनाइ छ ।
ल्याब, एकस्रे मेसिन नभएकाले सामान्य जाँचका लागि बिरामीलाई समस्या पर्ने गरेको स्वास्थ्यचौकीका कर्मचारी बताउँछन् । संघीयता लागु हुनुभन्दा अघि जनस्वास्थ्य कार्यालयले सरकारको मापदण्डअनुसार सबै औषधि स्वास्थ्यकेन्द्रमा पठाउने गर्दथ्यो, तर स्थानीय सरकारको मातहतमा स्वास्थ्यचौकी गएपछि सिटामोल, ब्रुफेन, अलबेन्डाजोलजस्ता औषधि मात्र पाइने गरेकाले सेवाग्रही आधारभूत स्वास्थ्यसेवाबाट वञ्चित हुँदै आएका छन् ।
पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहमा ८३ स्वास्थ्य चौकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।