धनगढी उपमहानगरमा स्वास्थ्य सेवा निःशुल्क

कैलालीको धनगढी उप–महानगरपालिले १९ वटै वडामा निःशुल्क स्वास्थ्य दिने भएको छ । आउने आर्थिक वर्षको साउनबाट विशेषज्ञसहितको स्वास्थ्य सेवा सुरु गर्ने भएको हो । 

सुदूरपश्चिमकै एक मात्र उप–महानगरपालिका धनगढीका दूरदराजका स्थानीयहरुले अझै प्रभावकारी रुपमा स्वास्थ्य सेवा नपाएको भन्दै उप–महानगरपालिकाले विशेषज्ञ सहितको स्वास्थ्य सेवा वडा–वडामा सुरु गर्न लागेको हो । 

उप–महानगरपालिकाले विभिन्न दाताहरुको सहयोग तथा आफ्नै आन्तरिक स्रोतबाट यन्त्र उपकरण तथा जनशक्ति व्यवस्थापन गरी विशेषज्ञ सेवा सुरु गर्न लागेको जनाएको छ । उपमहानगरपालिका १९ वटै वडामा एक दिन एक वडा गरी निःशुल्क स्वास्थ्य सेवा सुरु गर्न लागेको छ ।

यस्तै धनगढी उप–महानगरपालिकाले थालेको उक्त, अभियानमा धनगढी शाखा भएको भाटभटेनी सुपरमार्केटले विशेषज्ञ सेवाको प्रबन्ध गर्ने भएको छ । फिजिसियन र महिला रोग विशेषज्ञको मासिक तलब र भत्ता पाँच वर्षसम्म भाटभटेनी सुपरमार्केटले बेहोर्ने बुधबार धनगढी उप– महानगरपालिका र भाटभटेनी सुपरमार्केट बीच सम्झौता भएको छ । 

बुधबार नै उक्त सम्झौता पत्रमा भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल हस्ताक्षर गरेका छन् ।

आफूहरुले पहिलेदेखि नै सुदूरपश्चिमका विपन्न वर्गका नागरिकलाई स्वास्थ्य सेवामा सहयोग गर्दै आएको र धनगढी नगरपालिका क्षेत्रका नागरिकलाई समेत सेवा गर्न पाउदा खुसी लागेको भाटभटेनी सुपरमार्केटका अध्यक्षगुरुङले बताए ।



धनगढी उप–महानगरपालिका क्षेत्रका दुरदराजको जनताले अहिले पनि राम्रो स्वास्थ्य सेवा पाउन नसकेको अवस्था रहेको उल्लेख गर्दै नगर प्रमुख हमालको पहलमा सुरु भएको वडा–वडामा विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रममार्फत अति न्यून आय भएकाहरुले समेत घर–आगनमै सेवाको मौका पाउने धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले बताए ।

यस्तै यो सेवा सुरु भएपछि कुनै पनि नागरिक पैसाको अभावमा सामान्य उपचार गर्नबाट वञ्चित हुन नपर्ने नगर प्रमुख गोपाल हमालले बताए ।



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १८:५८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया