काठमाडौं– सन् २०१८ मा स्थल र हवाईमार्गबाट ११ लाख ७३ हजार ७२ पर्यटक आएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गर्यो । सरकारले यो संख्यालाई ‘ऐतिहासिक’ भनेको छ । तर, लामो समय व्यवसाय गरेका पर्यटन व्यवसायी भने सरकारले भनेजति पर्यटक आएको अनुभव नभएको बताउँछन् ।
सन् २०१७ को तुलनामा यो वर्ष पर्यटक आगमन २४.८ प्रतिशत वृद्धि भएको बोर्डले बताएको छ । गत वर्ष ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बोर्डका अनुसार यो वर्ष ९ लाख ६९ हजार २ सय ८७ पर्यटक हवाई र २ लाख ३ हजार ७ सय ८९ पर्यटक स्थलमार्गबाट नेपाल भित्रिए । स्थलमार्गबाट भित्रिनेमा सबैभन्दा बढी भैरहवा नाकाबाट १ लाख ६५ हजार पर्यटक भित्रिएको तथ्यांक छ । अन्य नाकाबाट पनि पर्यटक भित्रिने क्रम बढ्दो छ । तर, वीरगञ्ज नाकाबाट नेपाल भित्रिने पर्यटकको संख्या भने घटेको बोर्डको तथ्यांकले देखाउँछ ।
लामो समयदेखि विदेशी पर्यटकलाई र्याफ्टिङ गराइरहेका चन्द्रबहादुर दाहाल पर्यटकको संख्या बढेको अनुभव नगरेको बताउँछन् । ‘विदेशबाट आएका टुरिस्ट सबैभन्दा पहिले ठोकिने भनेको व्यवसायीसँगै हो,’ उनी भन्छन्, ‘तर, सरकारले २४ प्रतिशतले टुरिस्ट बढेको भने पनि हाम्रो व्यवसाय ५ प्रतिशतले पनि बढेको अनुभव भएको छैन ।’
पछिल्लो समय र्याफ्टिङमा विदेशीभन्दा स्वदेशी पर्यटकको संख्या उत्साहजनक रहेको उनले बताए । ‘विदेशी टुरिस्टभन्दा नेपालीको संख्यामा निकै सुधार आएको छ, पछिल्लो समय नेपालीहरु घुम्ने चलन बढेको देखिन्छ,’ उनले भने, ‘तर, विदेशीहरुको संख्यामा भने उल्लेख्य सुधार भएको छैन ।’
सरकारले आगामी वर्ष मनाउन लागेको ‘भिजिट नेपाल २०२०’ का सन्दर्भमा व्यावसायीसँग कुनै छलफल नगरेको उनले गुनासो गरे । भिजिट इयरको लागि आवश्यक भौतिक पूर्वाधारमा सरकारले कुनै चासो नदिएको उनको अरोप छ ।
‘हामी एक दिनको प्याकेज लिएर र्याफ्टिङका लागि जान्छौँ,’ उनले भने, ‘बिहान हिँड्यो भने जामले गर्दा ३ बजे त्रिशूली पुगिन्छ, अनि कति वेला र्याफ्टिङ गर्ने ?’
अर्का व्यवसायी डिबी लिम्बू पनि अघिल्ला वर्षको तुलनामा पर्यटकको चहल–पहलमा कुनै परिवर्तन नभएको बताउँछन् ।
टुरिस्टहरु कुनै प्याकेजभन्दा पनि एक्लै आउने चलन बढेको भन्दै उनले भने, ‘हाम्रोमा ठूूलो ग्रुपका पर्यटक आएकै छैनन् । अघिल्लो वर्षको तुलनामा कारोबार बढेको छैन ।’ नेपालमा कार्यक्रमका लागि ठूला हलको अभाव रहेको उनी बताउँछन् । नेपाल आएका पर्यटकहरुलाई खर्च गर्ने ठाउँकै अभाव रहेको भन्दै लिम्बूले सरकार त्यो विषयमा कमजोर भएको टिप्पणी गरे ।
नेपाल माउन्टेयरिङ एसोसियसनका पूर्वअध्यक्ष जिम्बा जङ्बु शेर्पा भूकम्पपछि घटेको टुरिस्टको संख्यामा केही सुधार मात्र भएको बताउँछन् । ‘भूकम्पपछि नेपालमा आउने पर्यटकको संख्या घटेको थियो, पछिल्ला वर्षमा केही सुधार भएको छ,’ उनी भन्छन्, ‘तर, गत वर्षभन्दा अहिले भने त्यति धेरै बढेजस्तो लाग्दैन ।’
एड्भेन्चर टुरिजममा आउने पर्यटकको संख्या उत्साहजनक रुपमा नबढेको उनी बताउँछन् । ‘हिमाली क्षेत्रमा ट्रेकिङ जाने र माउन्टेयरिङ जानेको हिसाब हेर्दा पछिल्लो वर्षमा केही सुधारजस्तो मात्रै देखिएको छ,’ उनी भन्छन्, ‘नेपालमै खर्च गर्ने, एड्भेन्चरमा खर्च गर्ने खालका टुरिस्ट भने बढेका छैनन् ।’
रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबन) का पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ पहिलेका वर्षमा जस्तो यो वर्ष होटलहरु प्याक नभएको बताउँछन् । उनी भन्छन्, ‘अक्टोबर र नोभेम्बरमा होटल केही प्याक देखिए पनि त्यसपछि खाली हँुदै गए, यस्तो अवस्थामा कसरी पर्यटक बढेको मान्ने ?’ पछिल्लो समय भित्रिएका पर्यटकको खर्च गर्ने क्षमतामा कमी आएको उनले बताए ।
टुरिस्ट गाइड एसोसियसनका अध्यक्ष केदार तामाङ पनि विगत केही वर्षको तुलनामा बढेको जस्तो देखिए पनि गत वर्षको तुलनामा पर्यटक नबढेको बताउँछन् । तामाङको पनि पहिलेको तुलनामा अहिलेका पर्यटकको खर्च गर्ने क्षमता कम भएको बुझाइ छ । उनी भन्छन्, ‘म २२ वर्षदेखि टुरिस्ट गाइड गरिरहेको छु, पहिले जुन क्वालिटीका टुरिस्ट आउथेँ, अहिले निकै ह्रास आएको छ ।’ आगामी दिनमा गुणस्तरीय पर्यटक ल्याउनमा ध्यान दिन सरकारलाई उनको आग्रह छ ।
यता, नेपाल क्यानोनिङ एसोसियसनका अध्यक्ष राजेन्द्र लामाको अनुभवले पनि अघिल्लो वर्षभन्दा पर्यटक आगमनमा कुनै फरक नआएको बताउँछ । ‘पर्यटकलाई विभिन्न ठाउँमा घुमाउने प्याकेज लिने व्यावसायीहरु वा टिकट सेलिङ कम्पनीसँग बुझ्दा अघिल्लो वर्षको तुलनामा अहिले झनै कम व्यापार भएको बताउँछन्,’ उनले भने । तथ्यांकमा पर्यटकको संख्या बढे पनि व्यवसायीको कारोबारमा त्यो नदेखिएको उनले प्रस्ट्याए ।
नेपालमा पर्यटकको परिभाषा नै भएन : व्यवसायी
अधिकांश पर्यटन व्यवसायी पर्यटकको परिभाषामाथि नै प्रश्न गर्छन् । विदेशी पासपोर्ट लिएर नेपाल छिरेका सबैलाई विदेशी पर्यटक मान्न नहुने उनीहरुको तर्क छ । सरकारले नेपाल छिर्ने सबैलाई पर्यटक भनेकाले तथ्यांकमा उच्च देखिएको तर पर्यटन व्यवसायमा वृद्धि नभएको उनीहरुको बुझाइ छ ।
रेबनका पूर्वअध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ सबैभन्दा पहिले टुरिस्टको पहिचान गरेर वर्गीकरण गर्नुपर्ने बताउँछन् । टुरिस्ट, एनआरएन र एम्बेसीमा काम गर्न विदेशीलाई एउटै भाँडोमा राखेर गन्न नमिल्ने उनको तर्क छ । ‘निकै अघिदेखि भन्दै आएको कुरा हो, संख्यालाई भन्दा पनि पर्यटकको खर्च गर्ने स्तर हेर्नुपर्छ,’ उनले भने ।
यस्तै, माउन्टेयरिङ एसोसियसनका पूर्वअध्यक्ष जिम्बा जङ्बु शेर्पा सरकारी तथ्यांकमा आएका भनिएकामध्ये २० प्रतिशत एनआरएन रहेको बताउँछन् । उनी भन्छन्, ‘अमेरिकाबाट परिवार भेट्न आएका एनआरएनलाई समेत हामी पर्यटकको रुपमा हिसाब गरिएका छौँ, त्यसैले तथ्यांकमा धेरै देखिएको हो ।’
नेपालमा १० दिन ‘टुरिजम एक्टिभिटिज’ गर्नेलाई मात्र टुरिस्ट भन्नुपर्ने उनी तर्क गर्छन् । एक रात मात्रै बस्नेगरी नेपाल आउने, ट्रान्जिट भएर भारत वा चीन जानेलाई पर्यटकको रुपमा मान्न नहुने उनको तर्क छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।