मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ताले भने– डा. केसीका अधिकांश माग पूरा भइसके

काठमाडौं– सरकारले डा. गोविन्द केसीका अधिकांश माग पूरा गरिसकेको दाबी गरेको छ । बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले डा. केसीका अधिकांश माग पूरा गरिसकेको बताए । 

केसीले उठाएका अधिकांश माग संसदीय समितिले नै सम्बोधन गरिसकेको दाबी गर्दै मन्त्री बाँस्कोटाले यस समय डा. केसीले उत्सव मनाउनुपर्ने टिप्पणी गरे । 
सरकारले केसीका माग पूरा गरेको दाबी गरे पनि डा. केसीले भने आफ्ना माग पूरा नभएको भन्दै बुधबार इलामबाट अनशन सुरु गरेका छन् । 

निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा नदिने बताए । गतवर्ष सरकारले अबदेखि ‘पृथ्वी जयन्ती’ हटाएर २७ पुसमै ‘राष्ट्रिय एकता दिवस’ मनाउने निर्णय गरेको थियो । 

बिहीबारको पत्रकार सम्मेलनमा गत पुस १९ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरियो । मन्त्रिपरिषद्को बैठकले भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको बैंठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव डा. सञ्जय शर्मालाई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी भाग लिन पठाउने समेत निर्णय गरेको छ । 

राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीको सेवा अवधि तीन वर्ष पूरा भएको भन्दै गत २३ पुसदेखि लागू हुनेगरी निजलाई अनुसन्धान विभागाको सेवाबाट अवकाश दिने मन्त्रिपरिषद्को निर्णय छ । बैठकले रिक्त रहने उक्त पदमा विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक गणेशकुमार अधिकारीलाई सोही दिनदेखि लागू हुनेगरी बढुवा गरेको छ । 





  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार २०:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया