बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा केही दिनदेखि बिरामीले उपचार, प्रयोगशाला परीक्षण प्राप्त गर्न, औषधि लिँदा देखिएको समस्याको विषयमा कांग्रेस हेटौंडानगर कार्य समितिले सात बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
बिहीबार हेटौंडानगर सभापति उत्सव इटेनी नेतृत्व टोलीले हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई भेटेर बिरामीले पाएको सास्तीको बारेमा ध्यानाकर्षण गराएको हो ।
नगरसभापति इटेनीले अस्पतालमा मेसु डाक्टर सापकोटालाई अस्पतालमा देखिएको समस्या र बिरामीले उपचारका क्रममा भोगेको झन्झटलाई छिटो समाधान गर्न अनुरोध गरे ।
बिरामीले उपचार, प्रयोगशाला परीक्षण प्राप्त गर्न, औषधि लिन दुई दिन लाग्यो भन्दै समाचार र सामाजिक सञ्जालमा आलोचना भएपछि कांग्रेस हेटौंडानगर कार्यले अस्पतालमै पुगेर यस विषयमा चासो लिँदै समस्या समाधान गर्न अनुरोध गरेको हो ।
कांग्रेस हेटौंडानगरले अस्पतालको विषयमा गराएको ध्यानाकर्षणमा अस्पतालका निमित्त मेसु सापकोटाले भवन र जनशक्तिका कारण उक्त समस्या देखिएको स्वीकार गर्दै छिट्टै समस्या समाधान गर्न प्रतिवद्ध रहेको कुरा प्रष्ट पारेका थिए ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,प्रेस युनियन मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी, कांग्रेस हेटौंडानगर सचिव हर्क रत्न लामा,सहसचिव निगम श्रेष्ठ, विकास बानियाँ, कोषाध्यक्ष कुलप्रसाद चौलागाई लगायतको उपस्थिति रहेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।